सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ माघ ।
वीरगंज महानगरको विकास र समृद्धिमा भाजो हाल्न थालिएको भन्दै त्यसको विरोध र मेयर राजेशमान सिंहको समर्थनमा नागरिक समाजको अगुवाईमा र्याली प्रदर्शन गरिएको छ ।
नागरिक समाजको ब्यानरमा वीरगंज स्थित हुलाक कार्यालय अगाडिको लालबंगला दरबारबाट विहिवार निकालिएको र्याली नगरपरिक्रमा गरेको हो ।
नगरपरिक्रमा पछि र्यालीले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
नागरिक समाजको ब्यानर राखेर निकालिएको र्यालीमा महानगरको ३२ वटै वडाका बासिन्दा, विभिन्न वडाका वडाध्यक्ष, नागरिक समाजका अगुवा,प्राध्यापक,एनप्याब्सन र प्याब्सनमा आबद्ध नीजी विद्यालयका सञ्चालक, नेपाली कांग्रेस, जसपा, नेकपा एमालेका नेता कार्यकर्ता, तेश्रो लिङगी, समलिङगी,महिला,पुरुष,बृद्धबृद्धा लगायतको सहभागीता रहेको थियो ।
र्यालीमा सहभागीहरुले वीरगंजको विकास विरोधीलाई कारबाही गर,वीरगंजको शान मेयर राजेशमान, वीरगंजबासीको पूकार अझै २० वर्ष राजेशमान सरकार, वीरगंज शहर हेर्दा लाग्छ रहर, सार्वजनिक सम्पत्ति मिच्न पाइदैन दलाली राजनीति चाहिदैन, धेरै आए बोल्ने बल्ल पाइयो काम गर्ने, राजेशमान छ त परिवर्तन सम्भव छ जस्ता नारालेखिएका प्ले कार्ड बोकेका थिए ।
र्याली सहितको प्रदर्शन पछि नागरिक समाजका अगुवा डा. दिपक शाक्य, वडाध्यक्षहरु प्रदीप चौरसिया, बैजुलाल स्वर्णकार, हीराकाजी महर्जन, जगत साह कानु लगायतको टोलीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।
ज्ञापनपत्र मार्फत “बैभव वीरगंज” बनाउने अभियानमा लागेको महानगरको वर्तमान नेतृत्वकाविरुद्ध भ्रामक तथा अनर्गल प्रजारबाजी गर्ने र वीरगंजको सामाजिक तथा धार्मीक सद्भाव बिगार्न खोज्नेलाई तत्काल छानविन गरि कारबाहीका दायरामा ल्याउन माग गरिएको छ ।
वीरगंजलाई बैभव बनाउन गरिरहेको काममा अवरोध ल्याउने तत्वहरुले महानगरको नेतृत्वको बारेमा पछिल्लो केही समययता जथाभावी अनर्गल प्रचारबाजी गरेको प्रति ध्यानाकर्षण भएको भन्दै वीरगंज बनाउछु भनेर कम्मर कसेर अग्रसर भएको नेतृत्वको उत्साह जगाउनुको सट्टा उसको मानमर्दन गर्दै, तथाकथित काल्पनिक झुठा प्रचारबाजी गरेर मनोबल घटाउने कार्य निन्दनीय भएको ज्ञापनपत्रमा उल्लेख छ ।
वीरगंजका सार्वजनिक जग्गा र सम्पत्तिमा केही माफियाहरुले वर्षौंदेखि चलाएको रजगज अहिलेको नेतृत्वले अन्त्य गर्दै सयौं विघा जग्गा अतिक्रमित जग्गा एवं पोखरी महानगरको अधिनमा ल्याएर सार्वजनिक हितका लागि प्रयोगमा ल्याएपछि त्यसबाट अत्तालिएका तत्वहरुले नेतृत्व बारे अनर्गल प्रचारबाजी गरेपछि मेयरको समर्थनमा महानगरबासी सडकमा उत्रिएको ज्ञापनपत्र बुझाउन गएको टोलीमा सहभागी वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसियाले बताउनु भयो ।
अहिलेको नेतृत्वले वीरगंजको मुहार नै फेर्ने गरि काम गरिरहेको सबै सामु छर्ल· रहेको भए पनि उहा विरुद्ध केही कुतत्वहरु एक जुट भएको उहाले आरोप लगाउनु भयो ।
सार्वजनिक सम्पत्ति संरक्षण, भूमाफियाहरुले अतिक्रमण गरेका जग्गा फिर्ता, नालामाथि बनेका संरचना हटाउदै, सहकारी पीडितका समस्या सम्बोधनका लागि सञ्चालकहरुलाई कारबाहीका लागि सिफारिस लगायतका जनपक्षीय काम धमाधम गरिरहेको मेयरलाई रोक्न षड्यन्त्र स्वरुप बाहिर भ्रामक प्रचारबाजी गर्न लागिएको यथार्थ बुझेर नै मेयरको समर्थनमा नगरबासी सडकमा उत्रीएको र्यालीका सहभागीहरुले बताएका छन ।
र्यालीमा सहभागी वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले भूमाफिया,दोहोरो नागरिकताधारी र राजनीतिक प्रतिशोधले ग्रसित व्यक्तिहरुले अहिले मेयरलाई बदनाम गर्न जवर्जस्ती झुठो प्रचारबाजीमा लागेको बताउनु भयो ।
प्रदर्शनमा नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ,नेकपा एमालेका वीरगंज महानगर सचिव सुन्दर कुर्मी, एमाले युवा नेता तेजप्रकाश निषाद, जसपाका महानगर अध्यक्ष इश्वरचन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।