वीरगंज, १३ पुष ।
१४ वर्षीय बालकलाई अपरण गरी हत्या गरेको आरोपमा पर्सा प्रहरीले एकजना शिक्षक सहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी बालक हत्या आरोपमा पक्राउ दुई जनालाई सार्वजनिक गरेको हो ।
पर्सा जिल्ला सदरमुकाम वीरगंज महानगरपालिका वडा नं. २५ सिर्सिया खल्वाटोला निवासी श्रीराम पासवानका १४ वर्षीय छोरा नीरज कुमार पासवानको अपहरण गरी हत्या गरेको आरोपमा वीमनपा वडा नं. १७ अलौं निवासी कृष्णा भन्ने श्याम प्रसाद यादव र श्री गुरुकुल पन्ना मेमोरियल ई. बोर्डिंग स्कूलको शिक्षक धोविनी गाउपालिका वडा नं. १ घोडदौडपिप्रा निवासी ३० वर्षीय दिलिप कुमार पटेललाई पक्राउ गरेको प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिनु भयो ।
श्री गुरुकुल पन्ना मेमोरियल ई. बोर्डिंग स्कूल कक्षा ८ मा अध्ययनरत बालक पासवानलाई शिक्षक पटेल र अर्का आरोपी कृष्णा भन्ने श्याम प्रसाद यादव लगायतले अपहरण पश्चात् हत्या गरि सिर्सिया खल्वाटोल स्थित श्री गुरूकुल पन्ना मेमोरियल ई. बोर्डिङ स्कुलको पुरानो भवन अगाडि रहेको सेफ्टी ट्यांकी भित्र गाडेको अवस्थामा प्रहरीले शव बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रउ शाहले घटनामा तीन जना मुख्य अभियुक्त भए पनि दुई जना पक्राउ परेको र अर्का एक जनाको पनि पहिचान खुलिसकेकोले छिट्टै पक्राउ गरिने बताउनु भयो ।
अनुसन्धानको क्रममा मंसिर ५ गते फिरौती असुल्ने उदेश्यले पासवानको अपहरण गरेका थिए ।
तर अभियुक्तहरूले अपहरित बालक पासवानलाई हात खुट्टा तथा मुखमा पटी बांधेर राखेको अवस्थामा बालकले डोरी फुकाइ भाग्न खोज्दा अपहरणकारीहरूले पहिचान खुल्न सक्ने डरले हत्या गरेको प्रउ शाहले बताउनु भयो ।
मंसिर ५ गते देखी सम्पर्क विहिन भएको निरज कुमार पासवान हराईरहेको छ भन्ने ६ गते निजका बुवा श्रीराम हजरा दुसादले प्रहरीमा खो.त.को लागी निवेदन दिएका थिए ।
त्यस पछि प्रहरी खोज तलासमै जुटेको बेला बालक हराएको १२ दिन पछि अपहरित बालकको वुवा श्रीराम हजारा दुसादलाई टेलीफोनबाट रु.५० लाखको फिरौती रकम माग गरेको भए पनि निजले प्रहरीलाई मंसिर २५ गते मात्र जानकारी गराएको प्रउ शाहले बताउनु भयो ।
Facebook Comments Box