spot_img

उद्योगी व्यवसायीहरुद्वारा राष्ट्र बैंक अगाडि धर्ना: समस्या समाधान नभए शसक्त आन्दोलन गर्ने चेतावनी



वीरगंज, १३ पुष ।
वीरगंज उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी व्यवसायीहरुका विभिन्न संघ–संगठनका पदाधिकारीहरु राष्ट्र बैंक वीरगंज अगाडी धर्नामा बसेका छन ।
नेपाल राष्ट्र बैंकको चालु पूंजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याज दरका विरुद्ध आन्दोलनमा उत्रिएका वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा उद्योगी व्यवसायीहरु राष्ट्र बैंक अगाडी धर्नामा बसेका हुन ।
नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको भन्दै आन्दोलनमा उत्रिएका संघले विरोधका विभिन्न कार्यक्रमहरु गर्दै आएका छन । यसै क्रममा बुधवार चौथो दिन चालु पूंजी कर्जा निर्देशिकाको बिरोधमा नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिनुका साथै हातमा कालो पट्टी बांधेर बिरोध जनाएको संघका उपाध्यक्ष हरिप्रसाद गौतमले बताउनु भयो ।
राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण प्रायः बाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज वृद्धी तथा विभिन्न नीतिगत जटिलताका विरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आएको व्यवसायीहरुको भनाइ छ ।
बुधवार विहान वीरगंज उद्योग वाणिज्य संघबाट उद्योगी व्यवसायीहरु, नागरिक समाज लगायतको सहभागितामा निकालिएको ¥याली वीरगंज नगरको परिक्रमा गरी राष्ट्र बैंक अगाडि पुगेर धर्नामा बसेका हुन ।
धर्ना कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ – मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासंघका पूर्व अध्यक्ष अशोककुमार टेमानी, सचिव आशीष लाठ, होटल व्यवसायी संघका अध्यक्ष हरि पन्त, लुब्रिकेन्ट व्यवसायी संघ, पर्साका अध्यक्ष विकाश ठाकुर, नेपाल औषधि व्यवसायी संघ, पर्साका अध्यक्ष ताजुदिन अंसारी, किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहा लगायतले चर्को ब्याज दर चालु पूंजी कर्जा निर्देशिकाको अव्यवहारिक र निजीक्षेत्र अमैत्री प्रावधान हटाउन माग गरेका छन ।
उनीहरुले शान्तिपूर्ण विरोधलाई प्राथमिकताका साथ लिई बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज दर र राष्ट्र बैंकको अव्यवहारिक निर्देशिका तत्काल संशोधन गरेर उद्योग व्यापारलाई राहत दिनुपर्नेमा जोड दिएका छन ।
वक्ताहरुले शान्तीपुर्ण रुपमा गरेको आन्दोलन पश्चात् पनि माग सम्बोधन नभए सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
बिरोध कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यापारी, नागरिक समाज, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर