सहारा दैनिक

spot_img
Homeखेलकूदविश्वकप क्रिकेटका लागि पाँच करोड निकासा

विश्वकप क्रिकेटका लागि पाँच करोड निकासा

काठमाडौँ, २३ फागुन (रासस)
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले रु पाँच करोड निकासा गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिनुभयो । “नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ ।
विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो ।
नेपाली पुरुष क्रिकेट टोली विश्वकपका लागि छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सदस्य–सचिव घिसिङले खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिवृद्धि गर्ने विश्वास लिएको बताउनुभयो । उहाँले नेपाल क्रिकेट संघ (क्यान)लाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्नसमेत आग्रह गर्नुभयो ।
नेपालले घरेलु मैदानमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आइसिसी पुरुष टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेटस् (युएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सञ्चालन हुँदैछ । नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -