वीरगंज, ११ पुष ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा औषधी सामाग्रीहरू लोड रहेका ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिवार राती वीरगंज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकबाट नियन्त्रणमा लिएको बिल बिजक भन्दा बढी सामाग्रीहरु लोड ट्रक सोमवार राजश्व अनुसन्धान कार्यालयमा बुझाएको हो ।
प्रहरी टोलीले घण्टाघर चोक स्थित सडकखण्डमा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा नेपाल रोड क्यारिएरबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिए पछि नियन्त्रणमा लिएको ट्रकमा रहेको अन्दाजी मुल्य रू. ९४ लाख २१ हजार १५ बराबरको खुद्रा, हार्डवेयर तथा औषधीजन्य सामाग्रीहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी प्रहरीले वी.म.न.पा.वडा नं.८ लिंक रोड सडक खण्डबाट भारतको रक्सौलबाट खरिद गरी भन्सार छली पैठारी गरी ल्याइएको ख्ष्खय कम्पनीको ४८ थान मोबाइल नियन्त्रणमा लिइ वीरगंज भन्सार कार्यालयमा बुझाएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको अं.मू.रू.३ लाख ८२ हजार बराबरको मोबाईल सहित वीमनपा वडा नं.७ बस्ने वर्ष ३० को रोशन जाटिया समेतलाई थप अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको जनाइएको हो ।
यसरी नै भन्सार छली ल्याइएका चामल, गहुं र धान लोड सहित २ वटा ट्याक्टर पनि नियन्त्रणमा लिइ वीरगंज भन्सारमा बुझाइएको जिप्रकाले जनाएको छ ।
वीमनपा वडा नं.१७ तिलावे पुल स्थित सडकखण्डबाट ना.७ त ५२५१ र ना.६ त ४२०४ नम्बरको ट्याक्टरमा भन्सार छली गरी वीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले रोक्ने क्रममा दुबै ट्याक्टरको चालकहरू फरार भए पछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिइएको ना.७ त ५२५१ नम्बरको ट्याक्टरमा ८० बोरा चामल, ७१ बोरा धान र १५० बोरा गहुं लोड रहेको प्रहरीले जनाएको छ ।
उक्त ट्याक्टरहरू जडान गरेको टेलर सहित रु.१५ लाख २६ हजार ४ सय ८० बराबरका चामल, धान र गहुं थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमवार भन्सार कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box