सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, २१ बैशाख ।
आइतबार देखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ ।
एसएस एभेन्ट्स प्राली र नेपाल खेलकुद महासंघ (नेकोस)को संयुक्त आयोजनामा प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
शुक्रबार नक्सालमा पत्रकार सम्मेलनको आयोजना गरी यस संस्करणको समूह विभाजनसंगै ट्रफी र जर्सी आयोजकले सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा एएस एभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियार, प्रतियोगिता निर्देशक प्रबिन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।
तीन वर्षपछि पुनः सञ्चालनमा आउन लागेको यस संस्करणमा कुल १५ कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन् । यी टोलीलाई कुल चार समूहमा विभाजन गरिएको छ । तीन समूहमा चार टोली रहनेछन् भने एक समूहमा तीन टोली प्रतिस्पर्धा गर्ने प्राविधिक संयोजक विनयकुमार झाले जानकारी दिए ।
शुक्रबार नै ड्र पनि सार्वजनिक गरिएको छ । जसअनुसार समूह “ए” मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैक र प्राइम बैंक तथा समूह “बी” मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन् । समूह “सी” मा सूर्य नेपाल, आइएमइ ग्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह “डी” मा एनसेल इलाइट्स र सुबिसी गरी तीन टोलीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा सञ्चालन हुनेछ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुंदै छ ।
यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट हृयाम्पर पाउने छन् । यस संस्करणको विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएका छन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउने छन् ।
आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ । सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो । सातौं सिजनदेखि नेकोस जोडिएको हो ।
Facebook Comments Box