सहारा दैनिक

spot_img
Homeदेशमधेशमहानगरपालिकाको अगुवाइमा सद्भाव र्‍याली

महानगरपालिकाको अगुवाइमा सद्भाव र्‍याली

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ असोज ।
मूर्ति बिर्सजनका क्रममा गत विहिवार सर्लाही जिल्ला सदरमुकाम मलगंवामा दुई पक्षबीच भएको विवादलाई लिएर वीरगंजमा पनि तनाब उत्पन्न भएपछि महानगरपालिकाको अगुवाइमा सद्भाव र्‍याली निकालिएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको विषेश पहलमा सोमवार वीरगंजमा सद्भाव र्‍याली निकालिएको हो ।
वीरगंज आर्दशनगर स्थित स्वीमिङपुलबाट निकालिएको सद्भाव र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, धार्मिक संघसंस्था, कर्मचारी, बुद्धिजीवी लगायतको सहभागिता थियो ।
र्‍याली नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर वीरगंज महानगरपालिकाका मेयर सिंह सहितको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका छन ।
सद्भाव र्‍याली पश्चात् आयोजित कोणसभामा सांसद एवं जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले सामाजिक सद्भाव भड्काउने तत्वहरुको पहिचान गरी अविलम्ब कारबाही गर्न माग गर्नुभएको छ ।
उहाले हिन्दू र मुस्लिमलगायत धर्माबलम्बीबीच कायम रहेको आपसी सद्भावलाई बिथोलेर निहित स्वार्थपूर्ति गर्न केही तत्व पछिल्लो समय सक्रिय बनेको आरोप लगाउदै ती तत्वहरुले विभिन्न चाडपर्वका नाममा प्रदर्शन गर्ने, जातजातीबीच द्वन्द्व बढाउने अभिव्यक्ति दिने र विभिन्न व्यक्तिका पसल तथा घरमा तोडफोड गर्नेजस्ता कार्य गर्दै आएका छन्, तिनीहरुलाई अविलम्ब पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ भन्नु भयो ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहले सामाजिक सद्भाव बिगार्ने र जातीय द्वन्द्व फैलाउने कार्यमा संलग्नलाई सरकारले तत्काल कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवम् सम्प्रदायसंग सम्बद्ध संघसंस्था विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो ।
कोणसभामा नेकपा एमाले पर्साका संयोजक डा. बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गर्नु भयो ।
उहाले समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याई कारवाही गर्न ध्यानाकर्षण पनि गराउनु भयो ।
र्‍यालीमा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगंज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी वीरगंज महानगरका अध्यक्ष मनोज चौधरी लगायत विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -