सहारा दैनिक

spot_img
Homeसमाचारसुरक्षा चुनौती सामना गर्न अझै प्रभावकारी कदम चाल्नुपर्छ–उपप्रधानमन्त्री श्रेष्ठ

सुरक्षा चुनौती सामना गर्न अझै प्रभावकारी कदम चाल्नुपर्छ–उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २१ भदौ (रासस)
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वव्यापी रुपमा बढ्दो नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी ढ·बाट नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।
इन्टरपोल स्थापनाको एक सताब्दी पुगेको अवसरमा आज काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले साइबर अपराध, आतङ्कवाद र अन्तर्राष्ट्रिय स·ठित अपराधजस्ता विश्वव्यापी नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले अपराध नियन्त्रणमा देशहरुबीच आपसी समन्वय जरुरी रहेको बताउँदै यस कार्यमा नेपाल प्रहरीले गरेको प्रयासको सराहना व्यक्त गर्नुभयो । एक शताब्दीदेखि इन्टरपोल अन्तर्राष्ट्रिय अपराध र आतङ्कवाद विरुद्धको विश्वव्यापी लडाइमा अमूल्य साझेदार भएको जनाउँदै गृहमन्त्री श्रेष्ठले यसले अन्तर्राष्ट्रिय प्रहरीबीच सहयोग अभिवृद्धि गर्नुका साथै सूचनाको आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्दै आएकामा प्रशंसा गर्नुभयो ।
उक्त कार्यक्रम मनाउँदै गर्दा नेपाल प्रहरीका पुरुषोतम नेपालीले सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । गृहमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय प्रहरीको सहयोगलाई सुदृढ पार्ने नेपालको प्रतिबद्धतालाई पुन दोहो¥याउनुभयो । न्याय र सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोगी र साझेदारहरूसँग समन्वय अभिवृद्धि गर्ने सङ्कल्पमा नेपाल सरकार लागिरहेको उहाँले बताउनुभयो ।आफ्नो सिमानाभित्र शान्ति र सुव्यवस्था कायम राख्नका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उहाँले भन्नुभयो, “विश्वले नै अन्तर्राष्ट्रिय अपराधबाट गम्भीर चुनौतीको सामना गरिरहेको छ, त्यस्ता अपराध नियन्त्रण गर्न सुदृढ साझेदारको खाँचो रहेको छ ।”
उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध ओसारपसार, मानव बेचबिखन, साइबर अपराध र सीमावर्ती आतङ्कवाद जस्ता मुद्दाहरूलाई सम्बोधन गर्न इन्टरपोलको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
उहाँले बढ्दो सिमापार अपराधको चुनौतीका बीच विश्वव्यापी सुरक्षा प्रतिबद्धता र ऐक्यबद्धता महत्वपूर्ण हुने बताउनुभयो । इन्टरपोलको शताब्दी वर्ष समारोहका अबसरमा अन्तर्राष्ट्रिय अपराधविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रतिबद्धता चाहिने महानिरीक्षक कुँवरको भनाइ थियो । “यसका लागि राष्ट्रहरू बीचको सहयोग, सूचना आदानप्रदान र कानुनी ढाँचालाई बलियो बनाउनुपर्ने छ”, उहाँले भन्नुभयो ।
महानिरीक्षक कुँवरले सुरक्षा खतरालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरीको सहयोग महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । एक सय वर्षअघि सन् १९२३ मा इन्टरपोलको स्थापना भएको थियो । सन् १९६७ मा विश्वव्यापी संस्थामा आबद्ध हुँदै नेपाल इन्टरपोलको सदस्य बनेको थियो । सोही सन्दर्भमा आज इन्टरपोलको शताब्दी वर्षका अवसरमा नेपालमा पनि विशेष कार्यक्रम आयोजना गरिएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -