सहारा दैनिक

spot_img
Homeसमाचारअन्तर्राष्ट्रिय जगत्मा सुन तस्करी प्रकरणले वित्तीय छवि धमिलिएको दावीः सुन तस्करी छानबिन...

अन्तर्राष्ट्रिय जगत्मा सुन तस्करी प्रकरणले वित्तीय छवि धमिलिएको दावीः सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठन हुनुपर्छ–अध्यक्ष ओली

काठमाडौँ, २८ साउन (रासस)
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ ।
एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक समिति आवश्यक भएको बताउनुभयो । माथिल्लो तहको संलग्नता विना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी जारी रहेको उहाँले दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबाट जोगाउन न्यायिक समिति बन्नुपर्ने जिकिर गर्नुभयो । सरकारले विरोधलाई मत्थर पार्न सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा गिरफ्तार गरेको समेत दाबी गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउन माग गर्दै संसन अवरोध गर्दै आएको छ । सरकारले केन्द्रीय प्रहरी ब्यूरोले गरेको छानबिनको प्रतिवेदनलाई पर्खन आग्रह गरेको छ ।
नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरूको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरू समेत हतास हुनसक्ने उल्लेख छ ।
“सुन तस्करी प्रकरण जस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक कदम चाल्नुपर्नेमा सरकार ढाकछोप गर्न लागेको हो कि भन्नेमा आशङ्का बढेको छ”, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “कडा सुरक्षाबीच विमानस्थलबाट यति ठूलो परिमाणमा बारम्बार सुन तस्करी हुनु राजनीतिक र प्रशासनिक संरक्षण भएको अनुमान गर्न सकिन्छ ।”
यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको कम्पाउण्ड बाहिर राजस्व अनुसन्धान विभागद्वारा बरामद गरिएको करिब एक सय किलो सुनबारे न्यायिक छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गर्दैै आएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत उच्च पदस्थ प्रशासनिक र सुरक्षा अधिकारीहरूले एकैसाथ बिदा लिनु, अध्यागमन र भन्सारका गतिविधिको नियमित अनुगमन गर्न मिल्ने गरी अर्थ र गृह मन्त्रालयमा जोडिएका क्लोज सर्किट क्यामराहरू नचल्ने बनाइनु, एक्सरे र मेटल डिटेक्टरबाट शङ्कास्पद लागेर पटक(पटक पुनःपरीक्षणको सङ्केत गर्दा पनि पुनःपरीक्षण नगरिनु तथा घटना बाहिर आउनासाथ विषयान्तर गर्ने प्रयास हुनुलाई एमालेले शङ्कास्पदरूपमा हेरेको एमाले अध्यक्ष ओलीले बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, प्रचार विभागका प्रमुख राजेन्द्र गौतमलगायत सहभागी हुनुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -