वीरगंज, २४ पुष ।
आफ्नै साथीलाई अपहरण गरी बन्धक बनाएको आरोपमा चार जना वालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वा स्थित आफ्नै साथी १६ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले स्थानीय चार बालकलाई पक्राउ गरेको हो ।
शनिवार विहान साढे ५ बजे वीमनपा वडा नं. १६ इनर्वा स्थित आफ्नै घर आंगनको कलमा हात मुख धोइरहेको अवस्थाबाट निजसंगै अध्ययन गर्ने चार जना मिलेर कम्बलले छोपेर नियन्त्रणमा लिइ अपहरण गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अपहरित बालकको मुखमा कपडा कोचेर बोल्न कराउन नदिइ धाराबाट अं.३ सय मीटर टाढा सुनसान खाली चौरमा लगेर मुखमा थप गलबन्दी, पन्जा र रूमाल कोचेर केबलको कालो तारले मुखको कपडा नखुस्कियोस भनेर वांधी खुट्टा र दुवै हात पछाडी फर्काएर बांधेको अवस्थामा प्रहरीले फेला पारेर उद्दार गरेको जनाएको छ ।
घटना सम्बन्धमा अनुसन्धान गर्दा कक्षामा संधै प्रथम भएकोले निजको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिस, द्वेस र डाहका कारण अपहरण गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटना स्थलबाट प्रहरीले रूमाल, केवलको कालो तारका टुक्राहरू, पञ्जा, गलबन्दी र कम्बल समेत बरामद गरेको जनाइएको छ ।
अनुसन्धानको क्रममा खुल्न आए अनुसार वारदातमा संलग्न भनिएका ४ जना बालकहरूलाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा म्याद थप गरी अनुसन्धान भइ रहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
Facebook Comments Box