सहारा दैनिक

spot_img
Homeदेशआफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन प्रधानमन्त्रीको चुनौती

आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन प्रधानमन्त्रीको चुनौती

काठमाडौँ, ७ मंसिर (रासस)
प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ ।
नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्र्रेसको सहयात्रा गरिएको बताउनुभयो ।
उहाले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी मुलुक चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गर्नुभयो ।
उहाले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने बताउनुभयो ।
उहाले लगानी मैत्री वातावरण निर्माण भइरहेकाले लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
प्र.म. ओलीले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर “समृद्ध नेपाल र सुखी नेपाली” बनाउने अभियानमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
“नेपालको आर्थिक अवस्था खराब अवस्थामा थियो । अहिलेको एमाले(कांग्रेसको सहकार्यमा बनेको सरकारले लिएको नीति र योजनाका कारण अर्थव्यवस्थामा सुधार भइरहेको छ”, उहाले भन्नुभयो ।
आर्थिक सुशासन र आर्थिक वृद्धि नभएसम्म देशमा विकासको गति बढ्न नसक्ने भएकाले नेपालका उद्योगी व्यवसायीसँगै बहुराष्टिूय कम्पनीहरुलाई समेत लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । “तपाईहरु लगानी गर्नुस्, सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्नेछ”, उहाँले भन्नुभयो ।
सम्बोधनमा उहाले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ ।
उहाले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताउनुभयो ।
आफूहरु विरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौड्ने उल्लेख गर्दै अध्यक्ष ओलीले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछिपछि दौडन आवश्यक नरहेको बताउनुभयो ।
“आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारका ठगी सैहृय हुँदैन । नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै “समृद्ध नेपाल सुखी नेपाली”को सङ्कल्पलाई पूरा गर्न अघि बढ्नेछन् । नेपाली जनता भ्रममा पर्दैनन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरुले सार्वभौम जनताको भविष्यलाई सङ्कटमा पार्ने प्रयास गरिरहेका छन् । यसमा हामी सचेत रहनुपर्छ । हाम्रा लागि देश र जनता प्रमुख कुरा हुन् । त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अर्बौँ रुपैयाँका मालिक बनेकाहरूले आफ्नाविरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट पार्दै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिनुभयो ।
अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरत्साहित गर्न लाग्ने बताउनुभयो । बैंकको ऋण तिर्नुपर्दैन भन्नेहरुले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उहाँले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गर्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -