सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० भदौ ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारले प्रदेशलाई पूर्णअधिकार दिए सहज ढंगले काम गर्न सकिने बताउनुभएको छ ।
न्यूज २४ टेलिभिजनको प्रादेशिक कार्यालय वीरगंजको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताउनु भएको हो ।
उहाले प्रदेश सरकारलाई पूर्णअधिकार नहुँदा काममा बाधा अड्चन आएको बताउदै संघीय सरकारसँग लामो समयदेखि संवाद भएपनि अझै पनि मधेस सरकारले चाहेजस्तो अधिकार प्राप्त नहुँदा काम गर्न असहज भइरहेको बताउनु भयो ।
संघीय सरकारले प्रदेशको अधिकारको विषयमा अब सहज वातावरण बनाएदिए हुन्थ्यो भन्दै मुख्यमन्त्री सिंहले संविधान जारी भएको लामो समय बित्दा पनि प्रदेश सरकारले पूर्ण अधिकार प्राप्त गर्न नसकेको गुनासो व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री सिंहले अधिकारको अभावमा निराश नभई उपलब्ध अधिकारको सही सदुपयोग गर्दै हामी प्रदेशलाई समृद्ध बनाउन लागि रहेका छौँ भन्नुभयो ।
संघीय सरकारले छिट्टै प्रदेशको कानुनी समस्यालाई सम्बोधन गर्ने आशा पनि व्यक्त गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री सिंहले वीरगंज देशकै प्रमुख आर्थिक तथा औद्योगिक नगरी भएकाले प्रदेश सरकारले पनि यसको लाभ लिने गरी काम गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाले प्रदेशको समृद्धिका लागि उद्योगी र व्यवसायीसँग सहकार्य गरेर आर्थिक क्रान्ति सुरु गरिने र मधेसको समृद्धि सुनिश्चित गर्ने गरी आवश्यक योजना तर्जुमा गरिने बताउनु भयो ।
मुख्यमन्त्री सिंहले प्रदेशको विकास र समृद्धिका लागि मिडियाले पनि प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाले मधेश प्रदेश सरकारले आउने आर्थिक वर्षमा मधेशका ८ वटै जिल्लाका पत्रकारहरुको लागि १ लाखको स्वास्थ्यबीमा र ७ लाखको दुर्घटना बीमाको व्यवस्था गर्ने जानकारी दिदै अध्ययन गर्ने पत्रकारहरुको लागि छात्रवृत्ति समेतको व्यवस्था गरिएको उहाले बताउनु भयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, मधेश प्रदेशका उप–कुलपति डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतले शुझकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यत्रमलाई समापन गर्दै न्यूज २४ टेलिभिजनका केन्द्रिय व्यूरो प्रमुख राजु श्रेष्ठले वीरगंजबाट ४ वटा कार्यक्रमहरु संचालन गरिने जानकारी दिनु भयो ।
उहाले व्यूरो कार्यालय वीरगंजमा संचालन भएसंगै “पर्यटन, शिक्षा, प्रदेश संवाद र आर्थिक” विषयमा कार्यक्रमहरु संचालन गरिने जानकारी दिनु भयो ।
मुख्यमन्त्री सिंहले उद्घाटन गरे संगै नेपाल ब्रोडकास्टिङ च्यानल लि. द्वारा संचालित न्यूज २४ टेलिभिजनको प्रादेशिक व्यूरो कार्यालय वीरगंजमा संचालनमा आएको छ ।
कार्यक्रममा बरिष्ठ उद्योगपति एवं समाजसेवी मुर्लीधर रुंगटा, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका माधव राजपाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह लगायत उद्योगी, व्यापारी, समाजसेवी एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
संविधान जारी भएको लामो समय बित्दा पनि प्रदेशले अधिकार पाएन–मुख्यमन्त्री सिंह
Facebook Comments Box