सहारा दैनिक

spot_img
Homeदेशमधेसमा सुविधा सम्पन्न रंगशाला बनाउछौं–मन्त्री चौधरी

मधेसमा सुविधा सम्पन्न रंगशाला बनाउछौं–मन्त्री चौधरी

सिरहा, १७ भदौ (रासस)
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशमा सुविधा सम्पन्न रंगशाला बनाउने बताउनु भएको छ ।
मधेस प्रदेशमा हालसम्म एउटा पनि रंगशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने उहाँले बताउनुभएको हो ।
आज सिरहाको लहानमा नेपाली कांग्रेस क्षेक्रीय कार्य समिति क्षेत्र नं. १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यत्रममा मन्त्री चौधरीले प्रदेशको राजधानी जनकपुरमा एउटा रंगशाला नभएको प्रसंग उल्लेख गर्नुभयो । “यहाँका अन्य जिल्लामा पनि छैन, अनि कसरी मधेसमा खेलकुदको विकास हुन्छ ?”, उहाँले भन्नुभयो । उहाँले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यही वर्षभित्र आयोजना हुने जानकारी पनि दिनुभयो ।
त्यसपछि ११औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रंगशाला निर्माण गरिने उहाँको भनाइ छ । मन्त्री चौधरीले राष्ट्रको सर्वािंगण विकासका लागि खेलकुदको विकास हुनु उत्तिकै जरुरी रहेको धारणा राख्नुभयो । उहाँले आफ्ना छोराछोरीलाई खेलकुदमा लगाउन आग्रह गर्नुभयो । खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा बढाउने उहाँले बताउनुभयो ।
मन्त्री चौधरीले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी मधेस प्रदेशको वीरगञ्ज, जनकपुरधाम र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिने बताउनुभयो । यसक्रममा जीर्ण रहेको वीरगंजस्थित नारायणी रंगशालाको केही दिनअघि निरीक्षण गरेको र आइतबार मात्र जनकपुरधामको रामजानकी रंगशालाको निरीक्षण गरेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेस सिरहाका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले मन्त्री चौधरीलाई स्वागत र सम्मान गर्दै मधेसको खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -