सहारा दैनिक

spot_img
Homeअर्थसरकार स्थिर भए नीतिगत स्थिरता कायम हुन्छ–अर्थमन्त्री पौडेल

सरकार स्थिर भए नीतिगत स्थिरता कायम हुन्छ–अर्थमन्त्री पौडेल

काठमाडौँ, ११ भदौ (रासस)
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर हुनसके मुलुकमा नीतिगत स्थिरता पनि कायम हुने बताउनुभएको छ ।
आजदेखि काठमाडौँमा सुरु भएको “नाडा अटो शो २०२४” को उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विद्यमान व्यवस्थामा बन्नसक्ने स्थिर र मजबुद सरकारका रुपमा वर्तमान सरकार रहेको दाबी गर्नुभयो ।
“राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता कायम हुन सक्दैन । अहिले बनेको यो सरकार स्थिर हो, यसले नीतिगत स्थिरताको पनि बलियो आधार दिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । सरकारको स्थिरतासँगै अब नीतिगत स्थिरता पनि कायम हुने उहाँको भनाइ छ ।
निजी क्षेत्रले व्यापारभन्दा पनि उद्योग र आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो । उद्योग क्षेत्रमा लगानी बढाउने र आन्तरिक उत्पादन प्रवर्द्धन गरेर मात्र मुलुकको अर्थतन्त्र सुदृढ हुँदै जाने उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारका मन्त्रीहरू औपचारिक कार्यक्रममा बढी अल्झिँदा मन्त्रालयका काम प्रभावित हुनसक्ने भएकाले महत्त्वपूर्ण कार्यक्रमबाहेकमा मन्त्रीहरूलाई आमन्त्रण नगर्न पनि आग्रह गर्नुभयो ।
नाडा अडो सो उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सवारीसाधनलाई विलाशिताका वस्तुभन्दा पनि आवश्यकताको वस्तुका रुपमा लिइनुपर्ने धारणा राखेको छ । साथै, नीतिगत स्थिरता कायम हुनुपर्ने माग पनि निजी क्षेत्रको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रलाई बिसाली वस्तुका रुपमा भन्दा पनि आवश्यक वस्तुका रुपमा लिइनुपर्ने बताउनुभयो । त्यसका लागि सरकारको नीति परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मुलुकको समग्र अर्थतन्त्र सुस्ताकएका कारण अटोमोबाइल क्षेत्र सुस्ताएको बताउनुभयो । सरकारको वित्त नीति तथा मौद्रिक नीतिबाट केही सहज व्यवस्था गर्नसके अटोमोबाइल क्षेत्रको बजार केही चलायमान हुने उहाँको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि अटोमोबाइल क्षेत्रलाई आवश्यक वस्तुका रुपमा परिभाषित गर्नेगरी नीति निर्माण गरिनुपर्ने बताउनुभयो ।
नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रको कारोबार पारदर्शी रहेको बताउँदै अटोमोबाइल क्षेत्रमा सरकारको नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभयो । खुला सीमानाका कारण हुने अवैध व्यापार रोक्न सरकार जिम्मेवार भएर लाग्नुपर्ने पनि उहाँको भनाइ छ ।
अटोमोबाइल क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी रहेको बताउँदै उहाँले मुलुकको अर्थतन्त्रलाई पनि यो क्षेत्रले महत्त्वपूर्ण टेवा पुर्‍याउँदै आएको बताउनुभयो । नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउन थप पूर्वाधार आवश्यक रहेको पनि उहाँको भनाइ छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा आजदेखि भृकुटीमण्डपमा “नाडा अटो शो, २०२४” सुरु भएको छ । प्रदर्शनीमा विभिन्न सवारीसाधन तथा त्यसका पाटपुर्जा, बैंक तथा वित्तीय क्षेत्र, बीमा कम्पनीलगायतका स्टल राखिएका छन् । प्रदर्शनी साउन १६ गतेसम्म चल्नेछ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -