सहारा दैनिक

spot_img
Homeदेशरोजगारी सृजना गर्न मधेस सरकार लागिपरेको छ–मुख्यमन्त्री सिंह

रोजगारी सृजना गर्न मधेस सरकार लागिपरेको छ–मुख्यमन्त्री सिंह

धनुषा, ११ भदौ (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सुशासन, प्रभावकारी सेवा प्रवाह तथा रोजगारी सृजना गर्ने पक्षमा वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।
मंगलबार मुख्यमन्त्री सिंहले प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीको प्रथम पुण्यतिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ बेलामा वृक्षारोपण अभियानको शुभारम्भ गर्दै नकारात्मक कुरालाई मात्र समाचारको विषय बनाएको खण्डमा सिंगो समाज नै नकारात्मक बन्ने भएकाले सकारात्मक सोचका साथ पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।
ऊहाँले गलत व्यक्तिका त्रियाकलापका कारणले संघीयतालाई बदनाम गराउने कुचेष्टा भए पनि जनताको घरदैलोमा सेवा सुविधा प्रदान गर्ने संघीय गणतन्त्र जस्तो अरू कुनै शासन व्यवस्था नभएकाले संघीयताको पक्षमा कलम चलाउनका लागि पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री सिंहले स्वर्गीय राजेश्वर नेपालीले सधैँ लोकतन्त्र तथा गणतन्त्रका लागि संघर्ष गर्नुभएको बताउँदै उहाँको निर्भिक पत्रकारिता अहिलेका युवापुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।
संघीयताको संस्थागत विकासका लागि जनताले संघीयताको अनुभूति गर्नेगरी प्रदेश सरकारले काम गर्न चाहेको उहाँले उल्लेख गर्नुभयो । जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री सिंहले बरको वृक्ष रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गर्नुभयो ।
जनकपुरधाम–भिठामोड चार लेन विद्यापति सडक जनकपुरधामको वेला पुलबाट महोत्तरीको बनौली मोडसम्म आँप तथा चम्पाको फूल गरेर चार सय ५० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको वडा नं २३ का वडाध्यक्ष राघवेन्द्र साहले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -