सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० भदौ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षक भास्कर खतिवडा प्रमुख भएर आएदेखि ड्यूटी भन्दा मुद्रामोचनलाई प्राथमिकता दिने ट्राफिक प्रहरीहरूको मनोबल बढेको पाइएको छ ।
ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएर सडक दुर्घटना पनि हवात्तै बढीरहेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी कर्मचारीहरू मुद्राअसुली अभियानमा लागेको गुनासाहरू बढ्दै गएको छ ।
यसै क्रममा प्राप्त समाचार अनुसार सवारी साधनको अत्यधिक चाप रहने वीरगंजको मुख्य स्थान घण्टाघर चौकमा खटिने ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्नुको सट्टा सवारी चालकहरूसंग जबरजस्ती असुली गर्ने गरेको सवारीचालकहरूले गुनासा गर्न थालेका छन् ।
घण्टाघर चोक र वरपरको क्षेत्रमा खटेका ट्राफिक प्रहरीले अटो रिक्सा चलाएर गुजारा गर्ने सामान्य रिक्सा चालकबाट आइतवार घुसवापत तीन प्लेट मःमः मागेको पिडित एक रिक्सा चालकले राष्ट्रिय सहारालाई बताएका छन ।
ती अटो रिक्सा चालकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार आइतवार दिउसो साढे ३ बजे आसपासको समयमा रेडक्रस बिल्डिङ छेउमा तीन जना बृद्ध यात्रुलाई उतार्न लागेको समयमा ड्यूटीमा रहेका एकजना ट्राफिक प्रहरीले इ–रिक्साको सीट झिकेर कब्जामा लिएका थिए ।
त्यसपछि रिक्सा पार्किंग गरि पैदल आएर सीट माग्दा ती ट्राफिक प्रहरीले सीट फिर्ता लिने भए आफूहरू तीन जना ट्राफिक प्रहरी ड्यूटीमा रहेको र खाजा खाने समय पनि भएकाले तीनै जनाको लागि एक–एक प्लेट मःमः को पैसा तिरिदिन भनेको ती चालकले बताए ।
ती चालकले आफ्नो पहिलो सवारी भएको र हालसम्म ३० रुपैयाँ मात्र कमाएकोले तीन प्लेट मःमःको तीन सय रुपैयाँ तिर्न नसक्ने भनेपछि ट्राफिक प्रहरीले चालकलाई धक्का दिएर भगाइ दिए ।
यी सबै दृश्य परबाट जिल्ला प्रहरी कार्यालय पर्साको मोबाइल गस्ती टोलीको गाडीबाट देखिरहेका प्रहरीले चालकलाई बोलाएर ती ट्राफिक प्रहरीले किन धक्का दिएको भनेर सोधेपछि रिक्सा चालकले सबै कुरा ती प्रहरीलाई भनेपछि सीट उठाएर लैजाउ, ट्राफिक प्रहरीले केहि भन्यो भने म कुरा गर्छु भनेपछि सीट लिएर फर्केको ती चालकले बताए ।
राज्यको तलब भत्ता खाएर नागरिकको सहजता एवं ट्राफिक व्यवस्थापनकालागि खटीने ट्राफिक प्रहरीले सामान्य रिक्सा चालकसंग समेत घुस लिन छोड्दैनन् भने झन ट्राफिक नियम उल्लंघन गर्ने, ओभर लोड गर्ने, अन्य मालबाहक सवारीसाधनसाग कत्तिको असुली गर्दो होलान् सहजै अनुमान लगाउन सकिन्छ।
ट्राफिक नियम उल्लंघन गर्ने, ओभरलोड गर्नेलगायतका सवारी साधनहरूसंग ड्राइपोर्ट, परवानीपुर, गण्डक, वीरगंज भन्सार क्षेत्र र बस पार्क लगायतका स्थानहरुमा बिचौलिया मार्फत असुली अभियान जारी राखेका ट्राफिक प्रहरीको इ–रिक्सा चालक संग मःमः असुली काण्ड खुलेको हो । हुन त ट्राफिक प्रहरीले असंगठित रहेका इ–रिक्सा चालकहरुबाट असुली कै लागी गण्डक चोकमा एक सय मिटरको दुरी पार गर्नलाई झण्डै डेढ किलो मिटर घुमाउने गरेको गुनासो पहिले देखि नै रहंदै आएको छ ।
यस सन्दर्भमा ट्राफिक प्रहरी निरीक्षक भास्कर खतिवडासंग टेलिफोन सम्पर्क गरि प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।
पर्सा ट्राफिकमा घुस आतंक, मःमः पनि छोड्दैनन्
Facebook Comments Box