सहारा दैनिक

spot_img
Homeदेशजसपा नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्दै

जसपा नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्दै

काठमाडौँ, २८ साउन (रासस)
जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने भएको छ ।
पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत संगठन निर्माण अभियान सुरू गर्ने जनाएको हो ।
संघ र प्रदेश सरकारबाट बाहिर रहेको जसपा नेपालले सिँगो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिन लगाउने र त्यसका लागि केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिइएको जनाएको छ ।
यस्तै, ललितपुरको महालक्ष्मीस्थान–६ सानोगाउँस्थित थसी ब्याक्वेटमा आइतबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन आज दुई सय १५ जना केन्द्रीय सदस्यलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।
केन्द्रीय सदस्यलाई प्रशिक्षण दिनुहुँदै अध्यक्ष यादवले आगामी चार महिनासम्म संगठन निर्माण, विस्तार, शुद्धिकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिनुभयो । “जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण” नाम दिइएको अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले आहृवान गर्नुभयो ।
संगठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हकअधिकारको पैरबी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको उहाँको भनाइ थियो । “यो केन्द्रीय समिति बैठकले आगामी अभियान सञ्चालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौँ”, अध्यक्ष यादवले भन्नुभयो ।
देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -