काठमाडौँ, २७ साउन (रासस)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने रहेको बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा आज उहाँले आफm्ना धारणा व्यक्त गर्दै वर्तमान गठबन्धन सरकार निर्माणको त्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको उल्लेख गर्नुभयो ।
नेता कोइरालाले भन्नुभयो, “वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने हो । निःसन्देह दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजानसक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिन्छ ।
नेपालको संविधान आमनेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रक्रिया अगाडि बढाउँदा संविधानको स्वीकारोक्तिमा आमनेपाली भावना जोडिनुपर्छ ।”
साझा राष्ट्रिय कार्यसूची बनाउँदा कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिबद्धतालाई बिर्सन नमिल्ने उहाँको भनाइ थियो ।
वर्तमान सरकार गठनका सन्दर्भमा कांग्रेस र नेकपा (एमाले)ले सुशासनको धेरै प्रतिबद्धता गरेको उल्लेख गर्दै नेता कोइरालाले व्यवहारमा सङ्घ र प्रदेशमा मन्त्रीहरू छनोटले सुशासनलाई जिस्क्याइरहेको टिप्पणी गर्नुभयो ।
“सरकार छ भन्ने अनुभूति आमनागरिकलाई सङ्कटको समय सबैभन्दा बढी हुन्छ ।
अहिले ती नेपालीहरूकाबीच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन समस्याहरूसँग जुध्दै छन्”, उहाँले भन्नुभयो, “तिनको उद्धार, राहत, उपचार र पुनःस्थापना सरकारको प्रमुख दायित्य हो ।
म चाहन्छु हामी संलग्न सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् ।”
Facebook Comments Box