सप्तरी, १८ कात्तिक (रासस)
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसारका कार्मचारी नहुँदा कार्य सम्पादन गर्न समस्या भएको छ ।
उक्त कार्यालयमा नायव सुब्बा आठ तथा कार्यालय सहयोगी १० जनाको दरबन्दी भए पनि हाल पाँचजना मात्र कार्यरत छन् । कार्यालय प्रमुख सत्यनारायण सिंहका अनुसार हाल कार्यालयमा अहिले एक भन्सार अधिकृत, एक लेखापाल र एक कम्प्युटर अपरेटर तथा तीन कार्यालय सहायक कार्यरत छन् । थोरै जनशक्ति हुँदा कार्य सम्पादन र राजश्व सङ्कलनमा कठिनाइ भएको उहाँले बताउनुभयो ।
राजविराज भन्सार मातहत सप्तरीकै बलानबिहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा रहेका दुई छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख सिंहले बताउनुभयो । “मुख्य भन्सार कार्यालयमै कर्मचारी अभाव रहेकाले छोटी भन्सार कार्यालयमा कर्मचारी पठाउन समस्या भएको छ”, उहाँले भन्नुभयो, “यसबारे माथिल्लो निकायमा पाँच पटक पत्राचार गरे पनि सुनवाइ भएको छैन ।”
Facebook Comments Box