spot_img
Homeदेशगण्डकीदाजु र भाइबीच भाइटीका

दाजु र भाइबीच भाइटीका

तनहुं, १८ कात्तिक (रासस)
भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ ।
आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् ।
तर यहाँको व्यास नगरपालिका(१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आउनुभएको छ । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताउनुभयो ।
मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् । “आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टिका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भयो । त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु गर्‍यौं । त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं,” उहाँले भन्नुभयो ।
मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । सुरुका वर्ष उहाँहरू आफैँलाई असहज महसुस भयो । दाजुभाइले भाइटीका लगाउन थालेपछि “हामी लगाइदिन्छौं” भन्नेहरू भेटिए । तर, उहाँहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाड्नुभएन ।
दिदीबहिनी नभएपनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ । “दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौँं,” उहाँले भन्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -