सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ भदौ ।
दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगंज महानगरसंग समन्वय गरेर अघि बढ्न तयार भएको छ ।
मंगलबार महानगरपालिका र शिक्षक महासंघका प्रतिनिधिबीच छलफल भए पछि महानगरको शैक्षिक वातावरणमा कुनै पनि असर नपार्ने गरि आफुहरु महानगरको उद्देश्य अनुरुप अघि बढ्न तयार भएको जनाएको हो ।
महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षकहरुलाई कुनै समस्या भए सम्बोधन गर्न आफू तयार रहेको बताउनु भयो । कुनै त्रुटी भए सच्याउन आफू संधै तयार रहेको भन्दै उहाले त्यसका लागि शिक्षकहरु पनि आन्दोलन छाडेर छलफलमा आउनुपर्ने बताउनु भयो । त्यसै गरी महानगरपालिकाका उप–मेयर इम्तियाज आलमले शिक्षकहरुले आफ्ना समस्या सम्बन्धित स्थानमा राख्नु पर्नेमा शैक्षिक वातावरण नै विगार्ने गरि वक्तब्यबाजी गर्दै हिंड्नु शोभनीय नभएको भन्दै आउदा दिनमा यस्ता कमजोरी आउन नदिन सचेत गराउनु भयो ।
उहाले शिक्षकहरु आफ्नै परिवारका भएकाले उनीहरुको समस्या आफ्नो पनि समस्या रहेको भन्दै छलफल मार्फत नै समाधान निस्कने विश्वास दिलाउनु भयो । स्थानीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै खटाइएको स्थानमा गएर शैक्षिक कृयाकलाप अघि बढाउनु शिक्षकहरुको दायित्व भएको उहाले स्पष्ट पार्नु भयो ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले शिक्षकहरुको मानसम्मानमा आघात नपुग्ने गरि निर्णय गरिएको र यसमा पनि कुनै समस्या रहेको भए आफुहरु सच्चाउन तयार रहेको बताउनु भयो । शिक्षा समितिको निर्णय बमोजिम नै दरबन्दी मिलानको काम गरिएकाले त्यसमा अप्ट्यारा परेका शिक्षकहरुले आफ्नो असहमति खुलाएर महाशाखालाई जानकारी गराए पुनरावलोकनका लागि समितिमा लैजान आफू संधै तयार रहेको बताउनु भयो ।
छलफलमा शिक्षक महासंघका नगर समिति अध्यक्ष प्रदीप जयसवालले आफु र आफ्ना शिक्षक साथीहरुको समस्या समयमै सम्बोधन नहुंदा आफुहरु विभिन्न ठाउमा दौडन बाध्य भएको बताउनु भयो ।
वास्तविक समस्यामा परेका शिक्षकहरुको माग सम्बोधन गर्न महानगर तयार देखिएकाले बांकी असहमतिका कुराहरु आपसी समन्वयमा समाधान गर्न आफुहरू तयार भएको बताउनु भयो । छलफलमा महासंघका महानगर सचिव सुमु प्रसाद सोनार, विजय यादब लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments Box