सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ असार ।
कालिकामाई गाउपालिकाको कृषि तथा पशु उपशाखाको भवन डोजर सहित भत्काउन पुगेका प्रहरी र स्थानीय बासी बिच झडप भएको छ ।
पर्सा जिल्ला कालिकामाई गाउपालिका वडा नं. २ गदियानी स्थित सञ्चालनमा रहेको कृषि तथा पशु उपशाखाको भवन प्रहरीले डोजर लगाएर भत्काउन खोज्दा स्थानीयले अवरोध गरे पछि झडप भएको हो ।
प्रहरीले डोजर लगाएर भवन भत्काउने क्रममा प्रतिकारमा उत्रिएका स्थानीयबासी उपर प्रहरीले लाठी चार्ज गर्दा २ जना सामान्य घाइते भएका छन् ।झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै घरभित्रै पसेर महिला लगायतलाई कुटपिटपनि गरेको आरोप स्थानीयको छ । पुरुष प्रहरीलाई महिलाहरुले घर–घरमा प्रवेश गरी कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन ।
गदीयानीस्थित सार्वजनिक पोखरीको १० धुर जग्गामा करिब डेढ दशकपहिले तत्कालीन सात दलको निर्णयमा ब्रिलियन्ट क्लबले कार्यालय सञ्चालनका लागि एक तल्ले भवन बनाएको थियो । भवन निर्माण भएलगत्तै स्थानीय राजुल सहनीले सार्वजनिक जग्गामा भवन निर्माण गर्ने ब्रिलियन्ट युवा क्लबविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्धा दिएका थिए ।
उक्त मुद्धामा जिल्ला अदालतले क्लबको पक्षमा फैसला गरेपछि उक्त फैसला विरुद्ध सहनीले तत्कालीन पुननरावेदन अदालत हेटौडामा पुनरावेदन गरेका थिए ।
पुनरावेदन अदालतले भने जिल्ला अदालतको फैसला उल्टाउदै सहनीको पक्षमा फैसला गरेपछि क्लब सर्वोच्च अदालतमा पुगेको थियो । तर सर्वोच्च अदालतले भने पुनरावेदन अदालतको फैसलालाई सदर गर्दै सावर्वजनिक पोखरीको जग्गामा बनाइएको उक्त भवन भत्काएर सार्वजनिक कायम गर्न फैसला गरेको थियो ।
त्यसपछि क्लबले उक्त भवन गाउपालिकालाई जिम्मा लगाएको थियो । क्लबले जिम्मा लगाएपछि गााउपालिकाले पालिकास्तरीय निर्णय गरेर उक्त भवनमा करिब डेढ बर्षदेखि पशु तथा कृषि उपशाखा कार्यालय सञ्चालनमा ल्याएको थियो ।यसका साथै गाउपालिका अध्यक्ष बशिष्ठ गुप्ताले उक्त भवन पालिकाको स्वामित्वममा आइसकेकाले पालिकाले आफनो संरक्षणमा राखेर पशु तथा कृषि उपशाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारीसहितको निवेदन पर्सा जिल्ला अदालतमा दिएका थिए ।
तर शनिबार ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन दाहाल नेतृत्वको टोलीले डोजर लगाएर भवन भत्काउने क्रममा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीसंग झडप भएको हो । स्थानीय सरकारसंगपनि समन्वय नगरी शनिबार बिहान एक्कासी डोजर लिएर पुगेका प्रहरी टोलीले गुण्डागर्दी शैलीमा भवन भत्काइदिएको क्लबका सचिव उमाशंकर साहको आरोप छ ।
सचिव साहले भवन भत्काउन डोजरसहित आएको प्रहरीलाई गाउका महिला,पुरुष,बृद्धबृद्धाले प्रतिवाद गर्न खोज्दा प्रहरीले अन्धाधुन्द लाठी चलाएको आरोप लगाए । घर–घरमै पसेर प्रहरीले महिलालाई कुटपिटपनि गर्यो । दुई जना घाइतेपनि भएको उनले बताए ।
गाउपालिका अध्यक्ष गुप्ताले भने पालिकासंग कुनै समन्वय नै नगरी जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएर जबरजस्ति भवन भत्काएको बताए । गाउपालिकाको स्वामित्वमा रहेको भवन भत्काउनु पूर्व पालिकामा कुनैपनि निकायबाट पत्र समेत नआएको र आधिकारीक रुपमा खबरपनि नगरिएको उनले बताए ।पशु कार्यालय सञ्चालनमै रहेको अवस्थमा प्रहरीले डोजर लगाएर भवन भत्काउदा भवनभित्र रहेका फर्निचर, उकरण , औषधि लगायतका गरि करिब रु. १० लाख बराबरको क्षति भएको उनले बताए ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले आफुलाई बोलाएर छलफल गर्ने क्रममा आफुले उक्त भवन नभत्काउन आग्रहपनि गरेको अध्यक्ष गुप्ताले बताए । छलफलमा सिडिओ साबले अदालतको फैसला कार्यान्न्वयन गर्नैपर्छ भन्नु भयो । त्यसपछि मैले पालिकासंग समन्वय गरेर मात्रै अगाडि बढ्नु होला भनेर भने । तर शनिबार बिहान उहाले मलाई खबरै नगरी अचानक प्रहरी र डोजर पठाएर भवन भत्काउन लगाउनु भयो । अब म मुद्धा गर्छु भने ।
यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी भुषालले भने आाफुले अदालतको फैसला कार्यान्वयन गर्न मात्रै लगाएको बताए । सार्वजनिक पोखरीको जग्गा पुर्ववत् अवस्थामै कायम गराउनु भन्ने सवोच्च अदालतको फैसला आएको र सर्वोच्चको उक्त फैसला कार्यान्वयन गराउन शनिबार प्रहरी र डोजर पठाएर भवन भत्काइएको बताए । भुसालले भने शुक्रबार सांझ पालिका अध्यक्षज्युलाई म आफैले बोलाएर छलफल गरे । अदालतको फैसलाको कार्यान्वयनमा बाधक नबनिदिन आग्रहपनि गरे । तर उहाले पुर्नविचार गर्नु होला भनेर जानु भयो ।