सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ पुस ।
स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार बृजलाल पासवानले पाउने भएका छन् ।
नेपाल पत्रकार महासंघ पर्साको सोमबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय सहारा दैनिकका सम्पादक पासवानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पासवान समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव एवम् राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।
महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा पत्रकार महासंघको सभाकक्षमा बसेको बैठकमा उपाध्यक्ष सुष्मा शर्मा, सचिव भुषण यादव, कोषाध्यक्ष सञ्जिव मिश्रा लगायत कार्य समिति सदस्यहरुको उपस्थिती रहेको थियो ।
यो पुरस्कार आगामी माघ १ गते औपचारिक कार्यक्रमका बीच प्रदान गरिनेछ ।
गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगंज उपमहानगरको मनोनित मेयर रहंदा २०६० साल माघ १ गते तत्कालिन माओवादी विद्रोहीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको पुरस्कार प्रत्येक वर्ष एक जना कृयाशिल पत्रकारलाई वितरण गर्दै आएको छ ।
गोपाल गिरीका परिवारसंगको सहकार्यमा स्थापीत पुरस्कारको रु. २५ हजार राशीको छ ।
यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केशरी र गया यादव पुरस्कृत भइसकेका छन् ।
Facebook Comments Box