सहारा दैनिक

spot_img
Homeदेशमधेशएनप्याब्सन कै व्यक्तिले अनुमति नलिई सञ्चालन गरेको कलेजमा सिलबन्दी

एनप्याब्सन कै व्यक्तिले अनुमति नलिई सञ्चालन गरेको कलेजमा सिलबन्दी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ भदौ ।
वीरगंज महानगरपालिकाले बिहीवार थप २ कलेजमा सिलबन्दी गरेको छ ।
शैक्षिक संस्थाहरुलाई नियमन गर्न अनुगमन गर्ने क्रममा अनुमति नलिएर सञ्चालनमा रहेका २ कलेजमा महानगरपालिकाले सिलबन्दी गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. ९ स्थित सत्यम पब्लिक कलेज र वडा नं. ८ स्थित पर्सा म्यानेजमेन्ट कलेजमा महानगरले सिलबन्दी गरेको महानगरका नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवले जानकारी दिनुभयो ।
एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजको फर्जी नाममा विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले बताउनुभयो । सत्यम कलेजले रानीघाट स्थित शुभ तारा स्कूल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको भेटिएको पनि उहाले जानकारी दिनुभयो ।
निजी शैक्षिक संस्थाहरुको छाता संगठन र शैक्षिक संस्थाहरु नियमअनुरुप संचालन हुनु पर्छ भनेर आवाज उठाउनेहरु नै गैर कानुनी रुपमा फर्जी कलेज संचालन गरिरहेको भेटिएको छ । एनप्याब्सनसंग आवद्ध जिम्मेवार व्यक्तिले नै आफ्नो विद्यालयले लिएको कक्षा ११ र १२ को अनुमति आर्थिक लाभका लागि अन्यलाई विक्री गरेर संचालन गरेको भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो अवस्था रहेको शिक्षा महाशाखाका अधिकृत नारायण चापागाई बताउनुहुन्छ ।
महानगरले शिक्षा क्षेत्र सुधारका लागि अहिले कडा रुपमा प्रस्तुत भएर अनुगमन र कारबाही दुबैलाई संगसंगै अघि बढाएको भन्दै उहाले अब कुनै पनि बहानामा अनधिकृत रुपमा संचालनमा रहेका शैक्षिक संस्थालाई नछाडिने चेतावनी पनि दिनुभयो ।
समितिका संयोजक यादव नेतृत्वको अनुगमन टोलीले बिहीबार नै न्यू वेभ एकेडेमीले कक्षा ११ र १२ सञ्चालन गर्ने लिएको अनुमतिलाई दुरुपयोग गर्दै अन्य ठाउमा नाम समेत परिवर्तन गरेर विद्यार्थी भर्ना गर्दै कक्षा सञ्चालन गरीरहेको पर्सा म्यानेजमेन्ट कलेजमा पनि सिलबन्दी गरेको छ ।
समितिका संयोजक यादवसंगै वडा नं. ८ का वडा अध्यक्ष रितेश गुप्ता, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा सल्लाहकार अभिषेक तिवारी, शिक्षा अधिकृत नारायण चापागाई लगायतको टोलीले शैक्षिक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिएको छ ।
समितिले यस अघि मंगलबार वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकीमा रहेको प्रिन्सटन मोडेल एकेडेमी र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको थियो ।
सोमवार अन्नपूर्ण कलेज र युनिभर्सल एकेडेमीमा सिल गरेको थियो भने त्यसअघि वीरगंज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजि बी किड्समा सिल गरेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -