वीरगंज, ०४ फाल्गुन ।
नक्कली सुन देखाएर ठगी गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रनि प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १५ स्थित सडक खण्डबाट नक्कली सुन देखाएर ठगी गर्नेहरुलाई पक्राउ गरेको हो ।
बिहिवार बिहानको २ बजेको समयमा वीमनपा वडा नं.१५ स्थित हिमालयन होटल अगाडी सडकखण्डमा BR31P 0649 नम्बरको सेतो स्कारपियो गाडीमा ३÷४ जना अपरिचित व्यक्तिहरूले सर्वसाधारण मानिसहरूलाई नक्कली सुन ( बिस्कुट आकारको १ किलो लेखिएको ) धातु देखाइ भ्रममा पारी ठगी गर्ने नियतले बिना बिलको तथा नक्कली सुन जस्तो देखिने पहेलो धातु देखाइ विक्री गर्न लागेको भन्ने जानकारी प्राप्त भए पछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खटिएको प्रहरीटोलीले सर्लाही जिल्ला बरहथवा न.पा.वडा नं.१० को ३१ वर्षीय रामबिर चौधरी, वडा नं.६ को ४५ वर्षीय लालबाबु राय यादव, वडा नं.१८ को ३८ वर्षीय राकेश कुर्मी र वडा नं.१७ को २७ वर्षीय अवधेश कुमार रायलाई पक्राउ गरेको हो ।
उनीहरुबाट स्कारपियो सहित Yuepeng Gold 1 kilo Fine Gold लेखिएको सुनको जलप भएको पहेलो धातु ( बिस्कुट आकारको ) १ थान पनि बरामद भएको जिप्रकाले जनाएको छ ।
उनीहरुबाट बरामद भएको पहेलो धातु ( बिस्कुट आकारको ) पर्सा सुन चादी व्यवसायी संघ वीरगंजबाट परीक्षण गराउदा सुनको जलप भएको धातु हो भन्ने परीक्षण प्रतिवेदन प्राप्त भए पछि पक्राउ परी आएका चारै जनालाई ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box