सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, १० जेठ ।
समाज कल्याण परिषदका कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुरव्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ ।
परिषदमा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्यांकनमा जांदा हुने यौनजन्य दुरव्यवहार विरुद्ध एक दिने सचेतना कक्षा सञ्चालन गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिषदका कर्मचारी, मूल्यांकनमा जाने टिम लिडर लगायतले सेवाग्राहीसंग आचारसंहिता विपरीत व्यवहार गर्ने गरेको उजुरी तथा गुनासो आएपछि परिषदका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई विषयगत विज्ञबाट सचेतना दिन निर्देशन दिनुभएको थियो ।
सोही अनुरूप परिषदले सबै विभागका कर्मचारीहरूलाई व्यवहारिक, नैतिक र कानुनी ज्ञानसहित आचारसंहिताबारे सचेतना दिएको हो । परिषदकै इतिहासमा पहिलो पटक आफ्ना कर्मचारीहरूलाई यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
सचेतनाले कार्यस्थलमा महिला, पुरुषले एक अर्कालाई कसरी सम्मानपूर्वक व्यवहार गर्ने ? यौनजन्य दुरव्यवहार भनेको के हो ? कसरी हुन्छ ? त्यस्ता दुरव्यवहारबाट कसरी बच्ने, कानुनी प्रावधान के छ ? लगायत कानुनी र व्यवहारिक प्रशिक्षण दिइएको छ ।
Facebook Comments Box