सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, १८ बैशाख ।
भारतीय राजदूतावास काठमाण्डौंले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसंगको सहकार्यमा “पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट” सम्पन्न गरेको छ ।
बीटूबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष श्रीमती सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् ।
त्यसै गरी मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्व रहेको बताउनु भयो ।
लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गर्दै तेस्रो नेपाल लगानी सम्मेलनमा फलदायी छलफलमा सहभागी भएका कैयौ व्यक्तिगत व्यवसायका साथै एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका ५० भन्दा बढी सदस्यीय बलियो भारतीय प्रतिनिधिमण्डलको प्रशंसा गर्नु भयो ।
बीटूबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईए बीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।
नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुका लागि लगानी सम्मेलनको एकदिन अगाडी नेपालका अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गर्नुभएको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।
बैठकमा ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रलाई समेट्दै बैठकमा मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) र नेपाल–भारत उद्योग वाणिज्य संघका ३५ जना प्रतिनिधिले सहभागीता रहेको थियो ।
Facebook Comments Box