राधेश्याम साह–––––––––––––––
गौर, १३ बैशाख ।
ज्यान मुद्दामा पुर्व पक्षको लागी जेलमा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै कांग्रेसका नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
बिहीबार जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनु भएको छ ।
२०६४ चैत २७ गते रौतहट जिल्ला राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इंटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनीहरुलाई दोषी ठहर गर्दै अदालतले सजाय सुनाएको हो ।
उनीहरुले घटना भएको समयमा प्रचलित मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।
सोही मुद्दामा मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिनु भएका छ ।
पहिलो संविधान सभा निर्वाचनको एक दिन अघि रौतहट जिल्ला स्थित राजपुरमा नेता आलमका काका शेष इद्रिसको घरमा बम बनाउने क्रममा विष्फोट हुंदा त्रिलोक प्रताप सिंह र ओशी अख्तर सहित घाइते भएकाहरुलाई जिउदै इटाभट्ठामा जलाएर हत्या गरिएको उनीहरु माथि आरोप छ ।
Facebook Comments Box