सहारा संवाददाता–––––––––––––––
मलंगवा, १९ चैत्र ।
सर्लाही प्रहरीले श्रोत नखुले रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका वडा नं. ९ स्थितबाट श्रोत नखुलेको रु १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा रु. ९ लाख ९० हजार जम्मा गर्ने दुई भौचरसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले रु २७ लाख ७५ हजार नौ सय ७० सहित मलंगवा नगरपालिका वडा नं. ३ बस्ने २४ वर्षीय कमर राजा र लालबन्दी नगरपालिका वडा नं. ७, घरभई मलंगवा नपा वडा नं. ९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गरी बसेका ४० वर्षीय आरिफ अन्सारीलाई पक्राउ गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सविनकुमार कार्की नगद रकम सहित राजालाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजको बयानको आधारमा अन्सारीको मोबाइल पसलमा छापामारी गर्दा पसलबाट श्रोत नखुलेको रु १७ लाख ७५ हजार ९ सय ७० बरामद भएको हो ।
अन्सारीको मोबाइल पसलबाट रु १ हजार दरका १ हजार ४ सय ५४ थान, रु ५ सय दरका ६ सय २२ थान, रु १ सय दरका १ सय ९ थान, रु ५० दरको १ थान र रु २० दरको १ थान नेपाली नोट बरामद भएको प्रनि कार्कीले जानकारी दिनु भयो ।
उक्त रकम सहित पक्राउ परेका राजा र अन्सारीले रकमको श्रोत बताउन नसकेपछि उनीहरुलाई अवैध हुण्डी कारोबार गरेको आशंकामा अनुसन्धान सुरु गरिएको जिप्रका सर्लाहीमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
Facebook Comments Box