काठमाडौँ, २ फागुन (रासस)
वरिष्ठ मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले विद्यालयस्तरबाटै धूमपान र सुर्ती सेवनबारे सचेतना अभिवृद्धिको आवश्यक भएको बताउनुभएको छ ।
प्रणय दिवस तथा सरस्वती पूजाका अवसरमा आज डा ओम फाउन्डेसनका संस्थापकसमेत रहनुभएका डा ओममूर्तिले विद्यालयमा धूमपान र सुर्ती सेवनबारे सचेतना जगाउन अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
“पछिल्ला दिनमा नेपालमा धूमपान र सुर्ती सेवन विद्यालयस्तरबाटै सुरू गर्ने घटना बढेका छन् । अध्ययनअनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धूमपान सुरू गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “धूमपान तथा सुर्ती सेवनबाट मानव शरीरमा पार्ने असरबारे विद्यार्थीलाई प्रभावकारीरूपमा सूचना पुर्याउने उद्देश्यसहित फाउन्डेसनले “स्कुल हेल्थ प्रोग्राम” सञ्चालन गरेको छ ।”
फाउन्डेसनले सोही अभियानअन्तर्गत विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । ऊक्त कार्यत्रममा देशभरबाट करिब १९ हजार विद्यार्थी सहभागी थिए ।
कविता प्रतियोगितातर्फ उत्कृष्ट हुन र उत्कृट चित्रकारले रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार प्राप्त गर्ने उहाँले बताउनुभयो ।
“मेरो एउटा सानो त्याग मायालुका लागि ठूलो उपहार” भन्ने नारासहित फाउन्डेसनले धूमपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुईहप्ते सचेतनामूलक अभियान सञ्चालन गरेको थियो । अभियानमा धूमपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धतासहित धेरै व्यक्तिले सहभागिता जनाएको डा ओमूर्तिले बताउनुभयो ।
“अभियानअन्तर्गत हजारौँ मानिसले यस अभियानमा चासो राख्नुभएको छ । एक हजार छ सयभन्दा बढीले धूमपान तथा सुर्ती सेवन त्यागेको प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार करिब ७० प्रतिशत प्रतिबद्धता स्वदेश र ३० प्रतिशत प्रतिबद्धता विदेशमा आएको छ ।
Facebook Comments Box