काठमाडौँ, २ फागुन (रासस)
भारतबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले अयोध्या, लखनऊ, कानपुरलगायत सीमावर्ती सहरहरुमा नेपालको पर्यटन प्रवर्द्धन गरिने भएको छ ।
होटल सङ्घ नेपालले जनकपुरलगायत नेपालका अन्य हिन्दू पीठको अयोध्यासँग सानिध्य कायम गरी बृहत् प्रवर्द्धन र प्रचारप्रसार गरी भारतीय पर्यटक आकर्षण गर्न यही फागुन २० देखि २६ (मार्च ३ देखि ६ तारिख) गतेसम्म सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने भएको हो ।
अयोध्यामा राम मन्दिरको प्राण पश्चात विश्वको ध्यान त्यसतर्फ आकृष्ट भएको सन्दर्भमा यसबाट नेपालले लाभ लिनसक्ने गरी कार्यक्रम गर्न लागिएको सङ्घले जनाएको छ । होटल सङ्घका अध्यक्ष विनायक शाहले भारतबाट उल्लेख्य सङ्ख्यामा धार्मिक पर्यटकलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले पर्यटन प्रवर्द्धनको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विशेष गरी भारतका ट्राभल एजेन्ट्सहरुलाई नेपालको धार्मिक पर्यटनबारे प्रचारप्रसार गछौँ, नेपाल प्रवर्द्धन र बिटुबी कार्यक्रम हुनेछ ।” अध्यक्ष शाहका अनुसार फागन २० गते जनकपुरको जानकी मन्दिरमा पुजा अर्चना गरी प्रशाद लिएर भोलिपल्ट भारतको अयोध्या प्रस्थान गरी त्यहाँ पुजाआज सम्पन्न गरिनेछ । फागनु २२ गते भारतको लखनउ, कानपुर, गोरखपुरलगायत सीमावर्ती शहरमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम छ ।
भारतीय ट्रर अपरेटर तथा विशिष्ट व्यक्तित्वका लागि विशेष आकर्षण स्वरुप नेपालका धार्मिक महत्वका पशुपतिनाथ, मुक्तिनाथ, डोलेश्वर महादेव, हलेसी महादेवलगायत मन्दिर र पिठहरुबाट सङ्कलित पवित्र जल प्रसादको अभिषेकले स्वागत गर्ने, रुद्राक्षको मालासहितको अभिनन्दन र पशुपतिनाथको चन्दन तथा जनकपुरको प्रसाद वितरण गर्ने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।
नेपालको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन कार्यका लागि परम्पराअनुसार माइती पक्षबाट भेटघाटका लागि ज्वाइँ छोरीको घर गई विभिन्न किसिमका उपहार तथा सौगात प्रदान गर्ने प्रचलन रहेको हुँदा सोहीअनुरुप माइती पक्ष सीताको जन्मस्थल जनकपुरबाट अयोध्यासम्म लावालस्करसहित नेपालका तर्फबाट होटल तथा पर्यटन व्यवसायीसहितको समूहले राम मन्दिरमा पूजाअर्चना गर्नेछ ।
सीताको जन्मभूमि जनकपुर र अयोध्याको सदियौंदेखि रहिआएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध झनै प्रगाढ भई धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने जनाइएको छ । गर्मीको छुट्टीमा धेरैभन्दा धेरै परिवारसहितका भारतीय पर्यटकलाई नेपालका विभिन्न धार्मिक पीठ जस्तै पोखरा, जनकपुर, चितवन, बर्दिया, काठमाडौंजस्ता पर्यटकीय गन्तव्यमा आकर्षित गर्ने उद्देश्य राखिएको छ ।
सीमावर्ती भारतीय सहरसहित अयोध्या, गोरखपुर, कानपुर, लखनउलगायत त्यस क्षेत्रका अन्य प्रतिष्ठित ट्रर अपरेटरसँग लखनउमा बीट्रबी तथा नेपाल प्रवर्द्धन कार्यक्रमका साथै नेपाल प्रवर्द्धन साँझमा भारतीय पर्यटक आकर्षित गर्ने प्याकेजसहितको कार्यक्रम पश्चात नेपाली रैथाने परिकारसहितको रात्रिभोज गर्ने गर्ने पनि जनाइएको छ ।
ऊक्त कार्यत्रमबाट पोखराले गर्दै आएको “चलिए पोखरा” र सौराहा चितवनले गर्दै आएको “घुमौं सौराहा” जस्ता प्रवर्द्धनात्मक कार्यक्रमलाई समेत टेवा पुग्ने सङ्घले विश्वास लिएको छ ।