सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताउनु भएको छ ।
बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसंग सोमवार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।
उहाले जनतालाई गणतन्त्रको मर्म बुझाउन नसकिएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
छलफलमा प्रम प्रचण्डले संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस भन्नु भयो ।
सो अवसरमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारले वीरगंजलाई उपेक्षा गरेको भन्दै प्रधानमन्क्रीसंग गुनासो व्यत्त गर्नु भयो ।
मेयर सिंहले वीरगंजलाई आर्थिक नगरी भनेर चिनिने भए पनि यहाको विकासका लागि संघ सरकारले बजेट दिन उपेक्षा गर्ने गरेको गुनासो गर्नु भयो ।
उहाले वीरगंज महानगरपालिका भए पनि महानगरको मापदण्ड अनुसारको न्यूनतम शहरी सुविधाबाट समेत बञ्चित रहेको तर्फ प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनु भयो ।
मेयर सिंहले वीरगंजसंग विभेद नगरिदिन आग्रह गर्दै भरतपुर, ललितपुर महानगरको जस्तै वीरगंजलाई पनि हेरिदिन आग्रह गर्नु भयो ।
सो अवसरमा उहाले सर्वोच्च अदालतमा वर्षौदेखि अड्किएको वीरगंजको मुख्य सडक विस्तार सम्बन्धी मुद्धा छिट्टै टुंग्याइ दिन पनि प्रधानमन्त्री प्रचण्डसंग आग्रह गर्नुभयो ।
सर्वोच्चमा वीरगंजको मुख्य सडक विस्तारको मुद्धाको पेशी २३ औं पटक सरिसकेको छ । अब अर्को पेशी फागुनमा परेको छ । उक्त मुद्धाको किनारा लगाउन सरकारले पहल गरिदिन मेयर सिंहले प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो ।
मेयर सिंहले नारायणी रंगशालाको जीर्णोद्वार र विस्तारलाई राष्ट्रिय गौरबको योजनामा समावेश गरिदिन पनि आग्रह गर्दै वीरगंजका लागि केहि ठूला परियोजना सहितको योजना सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्न आग्रहसहितको पत्र पनि प्रधानमन्त्री प्रचण्डलाई बुझाउनुभएको छ ।
पत्रमा अबको १/२ महिनामै फेरि वीरगंजमा चापकाल सुक्ने समस्या दोहोरिने सम्भावना भएकाले खानेपानी समस्या समाधानका लागि आवश्यक संख्यामा ओभरहेड ट्यांकी निर्माण, वीमनफा वडा नं. १७ र १९ मा अतिक्रमण मुत्त बनाइएको करीब ३५ बिघा जग्गामा पर्यटकीय स्थलका रुपमा आधुनीक ताल निर्माणको प्रकृया अगाडि बढाइएकाले त्यसका लागि आवश्यक बजेट विनियोजन, वीरगंजमा व्यवस्थीत ट्रान्सपोर्ट भिलेज, १३५ वर्ष पुरानो पुरातात्वीक तथा धार्मिक महत्व सहितको नृसिंह मन्दिर जिर्णोद्वार तथा सौन्दर्यकरण, घण्टाघर छेउको खाली जग्गामा पार्क निर्माण, सिर्सिया नदिको दुवैतर्फ तटबन्ध गरि १० किलोमिटरको कालोपक्रे सडक निर्माण, विन्दवासिनी मन्दिरको सौन्दर्यकरणका लागि आगामी नीति कार्यत्रममा बजेट विनियोजन गरिदिन आग्रह गरिएको छ ।
मेयर सिंहको आग्रहसहितको पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले वीरगंज महानगरका लागि मेयर सिंहले लिखित रुपमा पेश गरेका माग आगामी नीति कार्यक्रममा समेट्ने गरि बजेट व्यवस्थापन गर्ने आश्वासन दिनुभयो ।
उहाले स्थानीय तहका मुद्धा र समस्या सम्बोधन गर्ने गरी नै नयाँ नीति, कार्यक्रम तथा बजेट सरकारले बनाउदैछ भन्नु भयो ।
छलफलमा पर्साका १४ र बाराका १६ पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो ।
Facebook Comments Box