सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ माघ ।
मधेस प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमका लागि खरिद भएको साइकल खरिद प्रकृयामा तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले साइकल खरिद प्रकृयामा मधेश प्रदेश सरकारका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुंवरको इजलासले बिहीबार तत्कालीन प्रदेश सचिव भुसाल र सिडिई झालाई दोषी ठहर गरेको हो ।
साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको निष्कर्षका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले भुसाल र झालाई समान भ्रष्टाचार निवारण ऐनको दफा ८ (१) (ञ) बमोजिमको कसूरमा ३ महिना कैद र १० हजार रुपैया जरिवाना तोकेको छ । सो मुद्दाका अन्य आरोपितहरू सहलेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहन कुमार दास, ओमसत्य साई प्रालि वीरगंज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले सफाइ पाएका छन् ।
साइकल खरिदमा सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पुर्याएको भन्दै अख्तियारले उनीहरू विरुद्ध गत साउन १८ मा मुद्दा दर्ता गरेको थियो ।
Facebook Comments Box