सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ पुस ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताहरुले वीरगंजमा प्रदर्शन गरेका छन ।
संस्थाको बचतकर्ताहरुले आ–आफ्ना रकम फिर्ताको माग गर्दै शुक्रवार वीरगंजमा प्रदर्शन गरेका हुन ।
संस्थाका बचतकर्ताहरु विभिन्न उद्योगी व्यवसायीहरुका साथै सर्वसाधारण समेतले शुक्रवार आ–आफ्ना संस्थामा संचित गरेका रकम फिर्ता हुनु पर्ने माग गर्दै वीरगंज नगर परिक्रमा गरी घण्टाघर चोकमा पुगेर कोणसभा गरेका छन ।
वीरगंजका उद्योगी व्यवसायीहरुका साथै सर्वसाधारणले सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेका झण्डै एक अर्व ३५ करोड रुपैया फिर्ताको माग गर्दै यस अघि प्रशासन समक्ष उजुरी दिए पनि हाल सम्म कुनै किसिमको सुनुवाई नभएको प्रदर्शनमा सहभागीहरुले बताएका छन ।
प्रदर्शनमा सहभागी वीरगंज आदर्शनगरका व्यवसायी शुसिल कुमार अग्रवालले विगत ८ वर्ष देखि आफुले जम्मा गरेको रकम फिर्ताको माग गर्दा पनि हाल सम्म संस्थाले नदिएको आरोप लगाउनु भयो ।
प्रदर्शनमा सहभागी अग्रवालले संचारकर्मीहरु संग कुरा गर्दै प्रधानमन्त्री, सांसद, प्रशासन, वीरगंज महानगरपालिकाका मेयर र संचारकर्मीहरुलाई आफूहरुको रकम फिर्ता गराउन भुमिका खेल्न आग्रह गर्नु भयो ।
त्यसै गरी प्रदर्शनमा सहभागी किरणमान डंगोलले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले हाम्रो बचत गरेको पैसा लिएर भागेको आरोप लगाउनु भयो ।
उहाले हाम्रो रकम संस्थाले लिएर भाग्नुमा सहकारी संस्था भन्दा पनि राज्य दोषी रहेको आरोप लगाउनु भयो ।
प्रदर्शनमा सहभागीहरुले “संचालक समितिलाई तत्काल पक्राउ गरी बचत कर्ताको पैसा फिर्ता गर, जिवि राईलाई गिरफ्तार गर, सांसदहरु मौन किन” जस्ता नारा अंकित प्ले कार्ड बोकेका थिए ।
सो संस्थाले बचत कर्ताको रकम फिर्ता नगरेको भन्दै वीरगंज महानगरपालिकाले संस्थाको कार्यालयमा शिलबन्दी गरिसकेको छ ।