सहारा दैनिक

spot_img
Homeदेशमधेशवीमनपाको १४ औं अधिवेशनः रु. २५ करोड बजेट थप, योजना तथा कार्यक्रमहरु...

वीमनपाको १४ औं अधिवेशनः रु. २५ करोड बजेट थप, योजना तथा कार्यक्रमहरु परिमार्जन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ पुस ।
वीरगंज महानगरपालिका नगरसभाको १४ औं अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक बजेटमा रु. २५ करोड थप गर्दै विभिन्न योजना तथा कार्यक्रमहरु परिमार्जन गरेको छ ।
बुधबार देखि सुरु भएको १४ औं अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आर्थिक वर्षको बजेट थप गरेको हो ।
अधिवेशनले विनियोजन ऐन २०८० मा समावेश भएको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट ३ अर्ब २१ करोडमा २५ करोड बढाएर ३ अर्ब ४६ करोड पुर्‍याएको हो ।
अधिवेशनले खानेपानीका लागि महानगरबासीको ४ हजार घरधुरीमा धारा जडान गर्न रु. ८० लाख थप छुट्याएको नगरभामा मेयर राजेशमान सिंहले बताउनु भयो ।
उहाले भारतीय दूतावाससंगको सहकार्यमा महानगरका ४ हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्याइएको बताउनु भयो ।
दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरि धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम विनियोजन गरेको उहाले बताउनु भयो ।
नगरसभामा मेयर सिंहले विभिन्न विधेयकहरु पनि पेश गर्नु भएको छ ।
वीरगंज महानगरसभाको कार्य संचालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्बर्द्धन विधेयक, संघसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक पेश गरिएको हो ।
त्यसै गरी वस्ति विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयकपनि सभामा पेश भएको छ ।
आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेश गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनु भयो ।
बुधबार देखि सुरु नगरसभामा उपमेयर इम्तियाज आलम,तथा नगरसभा सदस्यहरुको सहभागिता रहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -