राधेश्याम साह–––––––––––––––
गौर, १८ पुस ।
बर्षौ देखि अलपत्र रहेका हुलाकी राजमार्ग अन्तर्गत वागमती नदीको निर्माणाधिन पुल अविलम्ब बनाउनुपर्ने माग राख्दै स्थानीय बासिन्दाहरु धर्ना बसेका छन ।
स्थानीयवासीहरु गौर–चन्द्रपुर सडक खण्ड स्थित बम नहरमा बाटो अवरुद्ध गरी अनिश्चिकालिन धर्नामा बसेका छन ।
निर्माण कार्य प्रारम्भ भएका वागमती नदीको पुल १३ बर्ष वितिसक्दा पनि निर्माण नभएको भन्दै रौतहट निर्वाचन क्षेत्र न.१( क )बाट नेपाली कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा दुर्गाभगवती र यमुनामाई गाउपालिकाका बासिन्दाहरु गौर–चन्द्रपुर सडक खण्डमा पर्ने यमुनामाईको बम नहरमा बुधवार दिउसो १.१५ बजे देखि बाटो अवरुद्ध गरेर अनिश्चितकालिन धर्नामा बसेका हुन् ।
स्थानीयहरुको धर्नाका कारण प्रमुख सडक अवरुद्ध भएपछि सवारी साधनहरु बाटोमै अलपत्र भएका छन् भने स साना सवारी साधनहरु बैकल्पिक बाटो प्रयोग गरी जान बाध्य भएको बताइएको छ ।
रौतहट जिल्ला दुर्गा भगवती गाउपालिका वडा नं. ५ बडहर्वा स्थित वागमती नदीमा २०६७ साल जेठ ३१ गते तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले पक्कि पुलको शिलान्यास गरेका थिए ।
तिन बर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भन्दै लुम्बिनी विल्डर्सले ६३३ मिटर चौडाई भएको पुलको ठेक्का सकार गरी निर्माण कार्य प्रारम्भ गरेको थियो । तर पुलको डिजाइन फेलुअर भएपछि २०७० साल देखि निर्माण कार्य अवरुद्ध भई निर्माण कम्पनी फरार भएको छ ।
निर्माण सुरु भएको झण्डै १३ बर्ष वितिसक्दा पनि हुलाकी सड्कको पुलको निर्माण कार्य पुरा हुन सकेनन् । तात्कालिन प्रधानमन्त्री नेपालद्धारा शिलान्यास गरिएको अति महत्वाकांक्षी योजनाको पुल निर्माण कार्य अलपत्र छाडेर फरार भएका लुम्बिनी विल्डर्स प्राली सिद्धार्थनगरको फर्मबाट ठेक्का सकार गर्ने पप्पु कन्ट्रक्सनका तत्कालिन संचालक हरिनारायण रौनियारलाई सम्बध निकायले पटक–पटक ताकेता गर्दा समेत अटेरी गरेपछि निजलाई कालोसुचीमा राखेर टेण्डर प्रक्रिया रद्द गरिएको थियो ।
पुलको १७ वटै स्पानको काम सकिएको अवस्था छ, पुलको काम ६० प्रतिशतको हाराहारीमा मात्रै पुरा भएको छ, लुम्बिनी बिल्डर्स प्राली सिद्धार्थनगरको फर्ममा पप्पु कन्ट्रक्सनले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयामा ठेक्का सकार गरेका थिए । फर्म लुम्बिनीको भएपनि सम्पुर्ण कामको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको थियो ।
तत्कालिन निर्माण कम्पनीलाई कालो सुचीमा राखेर ठेक्का रद्द गरेपछि पुनःप्राविधिक डिजाइनमा परिवर्तन गरी वृहत रुपमा डिपिआर गरेर पुलको स्पान थपगर्ने, नदीको धार परिवर्तन गरिने, पुलको एप्रोच सडक बनाउने, विम ढलान गर्ने लगायतको कामका लागि झण्डै ८० करोड रकम विनियोजन गरेर टेण्डर गर्दा महालक्ष्मी विकास वाइपी जेभीले ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयामा सकार गरेको दुई बर्ष वितिसक्दा पनि काम सुरु नभए पछि स्थानीय बासिन्दाहरुले पटक–पटक स्थानीय प्रशासन लगायत सम्बध निकायको ध्यानाकर्षण गराउदा पनि सुचारु नभएकाले आफूहरु बाध्य भएर बाटो अवरुद्ध गरेर धर्नामा बस्नुपरेको प्रदेश सांसद नागेन्द्र साहले बताउनु भयो ।
यस विषयमा हुलाकी सडक आयोजना वीरगंज कार्यालयका प्रमुख दिपक झाले सम्बध कन्ट्रक्सनले डिजाइन पेश नगरेको हुंदा निर्माण कार्यमा ढिलाई भईरहेको बताउनु भएको छ ।
यही पुस २९ गते भित्र डिजाइन पेश गर्न लिखित रुपमा कन्ट्रक्शनले सहमती गरेको हुंदा त्यो समयको प्रतिक्षा गर्नुपर्ने उहाले बताउनु भयो ।
बाटो अवरुद्ध खुलाउन स्थानीय प्रशासनले पहल गरिरहंदा पनि प्रदेश सांसद साहले माधवकुमार नेपाल सहित नेपाल सरकारको सम्बध मन्त्रालयबाट यथोचित रुपमा सम्बोधन भएपछि मात्रै अवरुद्ध खुल्ने नत्र हामी अनवरत बाटोमै बस्ने अडान लिनु भएको छ ।