सहारा दैनिक

spot_img
Homeदेशनेपालको विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्छ–पुर्व राष्ट्रपति यादव

नेपालको विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्छ–पुर्व राष्ट्रपति यादव

जनकपुरधाम, २९ मङ्सिर (रासस)
प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालको सामाजिक, सांस्कृतिक र जैविक विविधताका साथै विविध सांस्कृतिक चेतनालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
जनकपुरधाममा आज आयोजित पाँचौ अन्तर्राष्ट्रिय साहित्य उत्सवको समुद्घाटन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले भाषा, साहित्य र कलाको संरक्षणले मात्रै देश समृद्ध हुने बताउनुभयो ।
त्यसैगरी नेपाल र भारतले एकअर्काको फरक सभ्यता, इतिहास, सांस्कृतिक चेतना र विविधतालाई बुझ्न हिन्दी भाषा र साहित्यले सहज बनाएको भन्दै प्रथम राष्ट्रपति यादवले साहित्य उत्सवले त्यसका विविध आयामबारे वृहत छलफल गरी विकासका लागि रणनीति तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले नेपाल र भारतलाई राजनीतिक सीमाले विभाजन गरे पनि हिन्दी भाषा, साहित्य र संस्कृतिले दुई देशको भावनालाई जोड्ने काम गरेको भन्दै यो विशिष्ट सम्बन्धलाई कायम राख्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भारतीय साहित्यकार प्राध्यापक प्रणव चट्टोपाध्याय, डा रामचन्द्र रायले हिन्दी भाषा र समान सांस्कृतिक सभ्यताका कारण नेपाल—भारतबीच रोटिबेटीको सम्बन्ध रहेको धारणा राख्नुभयो । उहाँहरुले नेपाल—भारतबीचको त्यो सम्बन्ध र नेपालमा हिन्दी भाषाको दशा र दिशाबारे चर्चा गरिनुपर्ने धारणा राख्नुभयो ।
सांसद रेखा यादवले हिन्दीलाई नेपालमा सम्पर्क भाषाका रुपमा मान्यता दिनुपर्ने र त्यसका लागि लागि आफूले पनि संसद्मा आवाज उठाइरहेको बताउनुभयो । महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत श्री देवि साहाय मिनाले नेपाल—भारत भाषा र सांस्कृतिक रुपमा अविछिन्न रहेको भन्दै त्यसलाई मजबुत बनाउने दायित्व दुबै देशका सरोकारवालाको रहेको बताउनुभयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम अध्यक्ष राघबेन्द्र साहलगायतले नेपाल—भारत सम्बन्धमा हिन्दी भाषाको महत्वका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम र शान्तिनिकेतन हिन्दी प्रचारसभा पश्चिम ब·ाल भारतको संयुक्त आयोजनामा सुरु भएको साहित्य उत्सवमा सर्वभाषा कवि सम्मेलन, विभिन्न सांस्कृतिक तथा साहित्यीक पक्षमाथि छलफललगायत कार्यक्रम हुने कार्यतालिका छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -