सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ मंसिर ।
महोतरीमा एक जना प्रहरी सहायक निरिक्षक (असइ)को गोली प्रहारबाट प्रहरी जवान घाइते भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोतरी मातहत प्रहरी चौकी मरुवाहीका प्रमुख असइ बच्चा यादवको गोली प्रहारबाट प्रहरी जवान राजेश कुमार साह घाइते भएका हुन ।
समाचार श्रोतका अनुसार भारतीय सिमा क्षेत्रमा रहेका प्रहरी चौकी मरुवाही नजिकबाटै हुने गरेको अवैध ओसार पोसार (तस्करी) वापत असइ यादवले उठाउने रकमबाट उचित भागबण्डा पाउनु पर्ने भन्दै प्रज साहले माग गरे पछि भएको विवादका क्रममा गोली प्रहार गरेको हो ।
विवाद भए पछि असइ यादवले कार्तिक ३० गते राती १० बजेको समयमा प्रज साहलाई ताकेरै गोली प्रहार गर्दा छल्ने क्रममा साहको पाखुरामा गोली लागेर घाइते भएका थिए ।
घाइते साहलाई तत्काल असइ यादवले आफ्ना भाइ सर्लाही जिल्ला प्रहरी कार्यालयमा घुमुवाको रुपमा कार्यरत प्रहरी सहायक हवलदार रामअयोध्या यादवलाई बोलाएर भारत तर्फ उपचारको लागी पठाएका थिए ।
यो गोली काण्ड बारे असइ यादवले आफ्ना जिल्ला प्रमुखलाई समेत जानकारी नदिइ सामसुम पार्ने योजनामा रहे पनि प्रज साहलाई उपचारमा लाग्ने सम्पुर्ण खर्च बेहोर्ने अश्वासन दिएर घर पठाएका थिए ।
घटना घटेको चार दिन सम्म गोप्य राखे पनि घाइते प्रज साहलाई उपचारमा लाग्ने खर्च दिन असय यादवले आनाकानी गरे पछि निजका परिवारजनले महोतरी प्रहरीका प्रमुख प्रउ प्रकाश मल्ललाई जानकारी दिए पछि असइ यादवलाई तानेर जिल्ला प्रहरी कार्यालयमा राखेको श्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोतरीको सिमावर्ती क्षेत्रबाट हुने तस्करीबाट रकम असुली गर्ने जिम्मा असइ बच्चा यादवलाई नै दिएको हुंदा निजलाई बचाउन सिंगो जिल्ला प्रहरी प्रमख मात्र नभई प्रदेश प्रमुख समेत लागेको श्रोतले जनाएको छ ।
नेपाल प्रहरी अन्तरगतका कुनै पनि थाना चौकीका प्रमुखले सांझ ६ बजे देखि राती १२ बजे सम्म आफ्नै नेतृत्वमा गस्ती गर्नु पर्ने प्रावधान रहे पनि असइ यादव मादक पदार्थ सेवन गरी राती १० बजे चौकी मै बसेर प्रज साहलाई गोली प्रहार गरेको श्रोतले जनाएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोतरीका प्रमुख प्रउ मल्ल संग जिज्ञासा राख्दा उहाले हतियार मिलाउने क्रममा दुर्घटनावस गोली चल्दा भित्तामा लागेर फर्केको गोली प्रज साहको पाखुरामा लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनु भयो ।
उहाले यस बारे थप अनुसन्धान भइ रहेको पनि बताउनु भयो ।