सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ कार्तिक ।
तेली कल्याण समाज नेपालले भारतको महाराष्ट्रमा अखिल भारतीय तैलिक साह महासभाका राष्ट्रिय अध्यक्ष जयदत्त क्षीरसागरको घरमा भएको आगजनी तथा तोडफोडको भर्त्सना गरेको छ ।
तेली कल्याण समाज नेपाल केन्द्रिय कार्यालय काठमाण्डौले वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी भारतको महाराष्ट्रमा अखिल भारतीय तैलिक साह महासभाका राष्ट्रिय अध्यक्ष जयदत्त क्षीरसागरको घरमा भएको आगजनी तथा तोडफोडको भर्त्सना गरेको हो ।
समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा कार्तिक १४ गते ३१ अक्टुबरका दिन अखिल भारतिय तैलिक साह महासभा नई दिल्ली का राष्ट्रिय अध्यक्ष एवं पूर्व मंत्री जयदत्त क्षीरसागरको महाराष्ट्रको बिड जिल्लामा रहेको अवास एवं कार्यालयमा अज्ञात समूहले मराठा आन्दोलनको आडमा गरेको तोडफोड, आगजनी एवं पेट्रोल बम प्रहारको घटनाले समाज मर्माहत भएको जनाईएको छ ।
समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ प्रसाद तेलीद्वारा जारी विज्ञप्तीमा घर तथा कार्यालयमा हमला हुंदा जयदत्त क्षीरसागरको परिवारले मुस्किलका साथ आफ्नो ज्यान बचाएको कुरा उल्लेख गर्दै तेली कल्याण समाज नेपाल यो घटनाको भर्त्सना गर्दै भारत सरकार समक्ष दोषीलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न माग गरिएको छ ।
विज्ञप्तीमा पिडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माग पुरा नभए अखिल भारतीय तैलिक साहु महासभाको समन्वयमा नेपालमा समेत तेली कल्याण समाजले आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
क्षीरसागरको घरमा आगजनीको तेली समाजद्वारा भर्त्सना
Facebook Comments Box