सहारा दैनिक

spot_img
Homeसमाचारमुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा–पूर्वअर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा–पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी, २९ असोज (रासस)
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताउनुभएको छ ।
उहाँले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढंगबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।
रुपन्देही उद्योग संघको ४५औँ साधारणसभा तथा २३औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले चासो नदिएको बताउनुभयो ।
उहाँले सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेकोसमेत बताउनुभयो । “सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ, उद्योगीका समस्या सुनेर समाधान गर्न सकेको छैन र उल्टै उद्योगी र व्यवसायीलाई त्रसित गर्ने काम गरेको छ”, उहाँको आरोप छ ।
मुलुकको आर्थिक सङ्कटका कारण पूँजी पलायन हुँदै गएको र भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदै गएको उहाँको भनाइ थियो । अहिले देशका उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगहरुमा उत्पादन घट्कोे छ, माग, आपूर्ति पनि घटेको छ ।”
उहाँले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताउनुभयो । यस्तै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आर्थिक सङ्कटसँगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा सङ्कट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको बताउनुभयो ।
सो कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार २०७८ पत्रकार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु ४५ हजार ५५५ सहित सम्मान पत्र रहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -