सहारा दैनिक

spot_img
Homeसमाचारआममाफी दिने निर्णयविरुद्धको सुनुवाइ कात्तिकमा हुने

आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ कात्तिकमा हुने

काठमाडौँ, २५ असोज (रासस)
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आगामी कात्तिक १४ गते गर्ने भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ तथा न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आगामी कात्तिकमा सुनुवाइ हुने तय भएको हो ।
सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले भन्नुभयो, “मुद्दा आजको पूर्ण इजलासमा हेर्न नमिल्ने भयो । अब अर्को इजलास तय गरेर पूर्ण इजलासमै सुनुवाइ गर्ने आदेश भएको छ ।”
यही असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्ने कारणसहितको सम्पूर्ण सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो । अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्न आदेश दिएको थियो । आज पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन ।
संविधान दिवसका अवसरमा यही असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा रिगलको कैद मिनाहा भएको थियो । कैद मिनाहाको निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमा आज प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश भएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -