सहारा दैनिक

spot_img
Homeदेशमधेशभन्सार राजश्व संकलन लक्ष्य भन्दा टाढाः पर्सा जिल्लाका सिमानाकाबाट अनियन्त्रित तस्करी संचालन

भन्सार राजश्व संकलन लक्ष्य भन्दा टाढाः पर्सा जिल्लाका सिमानाकाबाट अनियन्त्रित तस्करी संचालन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ असोज ।
नेपाल–भारतसंग सीमा जोडिएका पर्सा जिल्लाका विभिन्न नाकाबाट पछिल्लो समय अवैध ओसार पोसार (तस्करी) अनियन्त्रित रुपमा बढेको देखिएको छ ।
दशैं तिहारको मुखैमा आएर राष्ट्रिय राजश्व असुलीमा लक्ष्य भन्दा निकै टाढा रहेको अवस्थामा सिमा क्षेत्रबाट अवैध ओसार पोसार (तस्करी) लाईन संस्थागत एवं ऐतिहासिक रुपमा संचालनमा आएको हो ।
सीमा क्षेत्रबाट अनियन्त्रित अवैध ओसार पसार र तस्करी नियन्त्रणमा जिम्मेवारीमा रहेका नियमाक निकाय मौन बस्दा तस्करहरू यति बेला पर्सा जिल्लाका ग्रामिन भेग संगै सदरमुकाम वीरगंजको भारतसंग जोडिएका सीमानाकाबाट तस्करी गरिरहेको प्रत्यक्ष रुपमै देखिने गरेको छ ।
सदरमुकाम वीरगंजको इनर्वा गाँउ, छोटी भन्सार नाका, भकुवा नाका लगायत ग्रामीण भेग सिर्सिया, ड्राइपोर्ट, अलौं, विन्दवासिनीको झौवा, इटियाही, अमरपट्टि, प्रसौनीभाठ्ठा, पकहामैनपुरको धोरे, खेस्राहा, जगरनाथपुरको जानकीटोला, दसौता, पाण्डेपुर, छिपहरमाईको भिस्वा, भलुवाही, मिर्जापुर, टिहुकी लगायतको नाकाहरुबाट व्यापक तस्करी भइरहेको स्रोतको दाबी छ ।
वीरगंजबाट छुटेका ट्रक बारा, मकवानपुर, चितवन, धादिङ, काठमाण्डौसम्म पुगेर धमाधम पक्राउ परेको एक पछि अर्को खबरहरू सार्वजनिक हुनुले पनि पर्साका नाकाहरुबाट तस्करी कार्य भइरहेको पुष्टि गर्दछ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्सामा सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यको आगमनसंगै तस्करी कार्य अनियन्त्रित रुपमा बढेको पाइ्रएको छ ।


जिल्लाका सीमावर्ती क्षेत्रका मूख्य नाकाहरूमा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थितिका बावजुद भन्सार छलि गरि भित्रियाइने अवैध सामान अन्य जिल्लाका प्रहरीले नियन्त्रणमा लिने घटनाबाट पनि तस्करी भइरहेको पुष्टी गर्दछ ।
सीमामा खटिने सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका चौकी ईन्चार्जहरूलगायतका प्रहरीहरूसंगको मिलोमत्तोमा पछिल्लो समय पर्साबाट ऐतिहासिक रुपमा तस्करीको लाइन खुलेको बताइन्छ ।
भारतीय बजार रक्सौल, भेलाही, सिकटा, मैनाटार, इनर्वा, प्रसुतिपुर बजारबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै मिलोमतोमा कपडा, काजु, खाद्यान्न, हार्डवेयरको सामान, मोटर पार्टस्, कस्टमेटिक सामग्री, रजनीगन्धा, राजनिवास, सूर्ति, चिनी, अण्डा, तेल, भांडाकुडा, कुखुराका चल्लालगायतका भारतीय सामग्रीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेका छन् ।
त्यसैगरी व्रीरगंजको छपकैया र्सिर्सिया नाकाबाट भारतको पनटोका निवासी विकास गुप्ताले दैनिक ठूलो संख्यामा जर्सि गाई भित्रियाइरहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सिया र ड्राइपोर्टलाई प्रभावमा पारेर गुप्ताले गाई तस्करी गरी नेपाल ल्याउने गरेका समाचारहरू सार्वजनिक भइरहेका छन् । सोही नाकाबाट पशुपति र रम्भुको साझेदारीमा काजु र प्रतिबन्धित रेडबुलको तस्करी गर्न लाइन प्रदान गरिएको छ भने मंजु पटेललाई काजु र कपडाको तस्करी गर्ने लाइन दिइएको छ । मंजुले माथि सेटिङ नगरिकन काजु भित्रियाएर भण्डारण गरेको सूचनापछि केही समय अघि सशस्त्र प्रहरी बलले छापामारी गरेर आठ क्वीन्टल काजु बरामद गरेको थियो । तर यति बेला सबैतिर सेटिङ मिलाएपछि फेरी उनको धन्दा सुचारु भएको बताइन्छ ।
सिर्सिया, ड्राइपोर्ट नाका अ्रन्तर्गत छोटी भन्सार कार्यालयको पश्चिमपट्टी तथा मसानघाट छेउछाउ हुंदै रम्भु र पशुपतिले संयुक्त रुपमा र मंजुले काजु, रेडबुल र कपडा ल्याउने गरेका छन् त्यस्तै डब्बु, जटाधारी, राजेश, जितु र फारुखलाई कपडाको तस्करी गर्ने लाइन दिइएको स्रोतको दाबी छ ।
यसरी नै पर्सा जिल्लाको ग्रामीण भेगको सीमावर्ती क्षेत्रबाट भैसीको तस्करी पनि व्यापक बढेको छ । प्रसौनी भाठा, अमरपट्टी, इटियाही, धोरे नाका र जगरनाथपुर गाउपालिकाको जानकीटोला नाका हुंदै भैसीको तस्करी गरि ल्याउने गरेको बताइन्छ ।


भैसी तस्करीलाई प्रोत्साहन गर्ने उद्देश्यले नै जगरनाथपुर गाउपालिकास्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै नेपाली भूमिमा भैसी बजार नै निर्माण गरिएको छ । जहा स्थानीयहरुले आफ्नो भैंसी बेच्नु भन्दा पनि भारतबाट तस्करी गरी ल्याइएका भैंसीहरु बिक्री वितरण हुने गरेको छ ।
विशेष गरेर राती १० बजेपछि विहान ३ बजेसम्म दैनिक करोडौं रुपैयाको राजश्व छलि हुनेगरी तस्करहरूले निर्वाध रुपमा तस्करी गरिरहेका छन् ।
अनियन्त्रित रुपमा चोरी तस्करी बढ्दै गएपछि लक्ष्यअनुरुप वीरगंज भन्सार कार्यालयको राजश्व संकलन हुन नसकेको वीरगंज भन्सार कार्यालयको तथ्यांकले पनि पुष्टी गर्दछ ।
पर्साबाट गएका तस्करीका अवैध सामानहरु अन्य जिल्ला र प्रदेशमा बरामद भइ तस्करी भइरहेको खबर सार्वजनिक भइरहदा पनि सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मूख्यालय बर्दिवासका सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाह, नेपाल प्रहरी मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईको मौनता रहष्यमय छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -