वीरगंज/ हुण्डी कारोबारको माध्यमबाट देशको अर्थतन्त्रलाई ध्वस्त पार्न आर्थिक अपराधीहरू सक्रिय रुपमा लागि परेका एक पछि अर्को घटनाहरू सार्वजनिक हुन थालेका छन्।
सरकारका प्रतिनिधिहरू अवैध कारोबारीहरूको प्रभावमा पर्ने भएकाले पनि हुण्डी कारोबारीहरू बढेका छन् । वीरगंजमा राज होजियारी कम्पनीको आडमा राज साहले हुण्डी कारोबार गर्ने गरेको रहष्य बाहिरिएको छ ।
पर्साका तत्कालिन प्रहरी उपरीक्षक हालका बरिष्ठ प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे र राज साहबीच रकमको लेनदेन सम्बन्धमा टेलिफोन मार्फत भएको कुराकानी सार्वजनिक भएपछि नेपाल सरकारको सुशासन अभियानको धज्जी उडेको छ ।
नेपाल लाईभ नामक अनलाईन मिडियाले व.प्र.उ. पाण्डे एवं राज होजियारीका संचालक राज साहबीच भएको टेलिफोन बार्ताको अडियो सार्वजनिक गरेर प्रहरी प्रशासनकै मिलेमतोमा आर्थिक अपराधीहरूले निर्धक्कका साथ हुण्डी कारोबार गरिरहेको उजार गरिदिएको छ ।
पाण्डे र साहबीचको टेलिफोन वार्तामा सुनिएका नामहरू–बिक्की र दिनेश चर्चित हुण्डी र सुन कारोबारी रहेको चर्चा बिगतदेखि नै चल्दै आएको थियो । नेपाल लाईभले सार्वजनिक गरेको अडियो टेपले चर्चालाई यथार्थमा परिणत गरिदिएको छ ।
नेपाल लाईभमा कालो धन (अवैधानिक रकम) तथा देशको अर्थतन्त्र आरोलो लाग्नुको मुख्य कारणमध्ये एक मानिएको हुन्डी कारोबारका नाइकेसँग प्रहरी अधिकारीले नै रकम असुल्दै हुन्डीका लागि लाइन खुला गरेको तथ्य प्राप्त गरेको उल्लेख छ ।
अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) मा कार्यरत रहेका एसएसपी पाण्डेले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख (एसपी) हुँदा वीरगंजका हुन्डी कारोबारीका नाइके “राज होजियारी” भनिने राज साहसँग साँठगाँठ राखेर रकम असुल्ने गरेको नेपाल लाइभमा उल्लेख छ ।
हुन्डी कारोबार खुला गरिदिएबापत साहले पाण्डेलाई रकम उपलब्ध गराउने गरेको नेपाल लाइभले सार्वजनिक गरेको (अडिओ)बाट प्रष्ट बुझिन्छ । त्यतिमात्रै होइन पर्साबाट सरुवा भएपछि पनि साहसँग सम्बन्ध राख्दै सहजिकरण गरिदिए बापत उनले रकम बुझ्ने गरेको स्रोतलाई उद्धत गर्दै नेपाल लाइभले समाचार लेखेको छ ।
सीआईबीबाट पर्सा गएका उनै पाण्डेले वीरगंजमा “हुन्डीका मुख्य कलेक्टर” भनेर चिनिने साहसँग निकट गरेर हुन्डीको लाइन खुला गर्दै रकम असुल्ने गरेको पाइएको हो ।
साह र पाण्डेबीचको टेलिफोन संवादमा लिइएको नाम बिक्की वीरगंजकालागि चर्चित सुन तथा हुण्डी कारोबारी हुन् । बिक्की भन्ने अंकुर जैन भारतीय नागरिक सन्तोष जैनका छोरा हुन् । नेपाल लाइभमा भने अंकुर उल्लेख रहेको नभएपनि बिक्कीको नाम पटक पटक लिइएको छ ।
सुन्नुहोस अडियो: