सहारा दैनिक

spot_img
Homeसमाचारमहिनौँ संसद् अवरुद्धले व्यवस्थाप्रति वितृष्णा पैदा हुन्छ ः लेखक

महिनौँ संसद् अवरुद्धले व्यवस्थाप्रति वितृष्णा पैदा हुन्छ ः लेखक

कञ्चनपुर, ३१ साउन (रासस)
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महिनामैसम्म संसद् चल्न नदिँदा व्यवस्थाप्रति वितृष्णा पैदा हुनसक्नेतर्फ प्रमुख प्रतिपक्षी दललाई सचेत गराउनुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को प्रथम प्रदेशस्तरीय सम्मेलनमा प्रमुख सचेतक लेखकले प्रतिपक्षी दल नेकपा (एमाले)लाई जिम्मेवार भएर मुलुकलाई निकास दिन आग्रह गर्नुभयो ।
“संसद् खुलाउने विषयमा शीर्ष तहदेखि विभिन्न तहमा वार्ता र संवाद हुँदासमेत संसद्को अवरोध हटाउनेतर्फ प्रतिपक्षी गैरजिम्मेवार भयो”, नेता लेखकले भन्नुभयो, “साउन सकिन लाग्दासम्म संसद् सञ्चालन नहुनुले मुलुकलाई क्षति पुग्ने अवस्था छ ।”
उहाँले संसद् खुलाउन सबैतिर सबैसित वार्ता र संवाद गरिएको बताउँदै संसद् जनताको हितका निम्ति काम गर्ने ठाउँ भएकामा जोड दिनुभयो । “लामो समयसम्म संसद्को अवरोधले सरकारले काम गर्न सक्दैन”, लेखकले भन्नुभयो, “कुनै पनि प्रतिपक्षी दलले आफूलाई ठीक नलागेको कुरा ओलोचनात्मकरुपमा राख्न आग्रह गर्दछु ।”
सदनमा हुँदा विघटन गर्ने र प्रतिपक्षमा हुँदा अवरोध गर्ने एमालेको कुरा राम्रो नभएको लेखकको भनाइ छ । त्यसैगरी उहाँले मुलुक एउटा विशिष्ट राजनीतिक अवस्थामा मुलुक रहेको बताउनुभयो ।
“एकलौटी बहुमत कुनै पार्टीसँग नहुँदा दुई या दुईभन्दा पार्टी मिलेर सरकार बनाउनुपर्ने स्थिति छ”, उहाँले भन्नुभयो, “कांग्रेसको सार्थक नेतृत्वमा सरकार बनाएका छौँ ।” उहाँले अहिलेको गठबन्धन स्थायित्व दिने जिम्मा पनि नेपाली कांग्रेसलाई रहेको बताउनुभयो ।
“राजनीतिक कांग्रेस राजनीतिक स्थिरताका निम्ती निरन्तरता दिन चाहन्छौँ, यो कांग्रेसको प्रतिबद्धता पनि हो”, उहाँले भन्नुभयो, “सो विषय अहिले कांग्रेसले आफ्नो दायित्व सम्झेर कार्यान्वयन गरिरहेको छ ।”

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -