सहारा दैनिक

spot_img
Homeसमाचारसरकार सुशासन अभियानमा छ, कामको तारिफ हुनुपर्नेमा झन संसद् अवरुद्ध छ–प्रधानमन्त्री

सरकार सुशासन अभियानमा छ, कामको तारिफ हुनुपर्नेमा झन संसद् अवरुद्ध छ–प्रधानमन्त्री

काठमाडौँ, ३० साउन (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार नदेखिएको बताउनुभएको छ ।
आज उहाँको सरकारी निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तक्र्रियामा उहाँले सुन पक्राउ प्रकरण सरकारको सुशासनको प्रतिबद्धताको पछिल्लो उदाहरण हो भन्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यतिका धेरै सुनलाई तस्करले विमानस्थलबाट बाहिर ल्याएर लाने क्रममा सरकारले पक्राउ ग¥यो, कैयौँ मानिस पक्राउ परेका छन् र अनुसन्धान भइरहेको छ, यस्तो अवस्थामा पनि प्रमुख प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुको सट्टा झन संसद् अवरुद्ध गरेको छ, यसरी संसद् रोकिएको छ कि मानौँ सरकारले सुन पक्राउ गरेर कुनै गल्ती पो गरेको हो कि ?”
प्रधानमन्त्री दाहालले नेकपा (एमाले)ले केही दिनयतादेखि संसद् अवरुद्ध गरेको प्रस· उल्लेख गर्दै सरकारले एकपछि अर्काे गरी भ्रष्टाचारका काण्ड सार्वजनिक गरी सुशासनको प्रत्याभूति दिने गरी काम गरिरहेको स्पष्ट रहे पनि त्यसलाई अनदेखाजस्तो गरेर उल्टै जनताका आवाज मुखरित हुने ठाउँ संसद् नै अवरुद्ध गर्नु जायज नभएको बताउनुभयो ।
नेपालमा सुन एकातिरबाट आउने अर्काे देशमा जाने गरेको अहिले आएर थाहा भएको र त्यस्तो सूचना थाहा भएपछि आफ्नै मातहतको एकजना सहसचिव खटाएर सो सुनको पिछा गरेरै पक्राउ गर्न लगाइएको उहाँले जानकारी दिनुभयो ।
अहिले जारी रहेको अनुसन्धानबाट पनि सरकारले यो अवैध कारोबार केवल विमानस्थलको प्रहरी र भन्सारको मात्र नभएर ठूलाबडाहरू र कतिपय विदेशी नागरिककै संलग्नता देखिएको खुलेकाले यसलाई अनुसन्धान गरी निष्कर्षमा पु¥याएर दोषीमाथि कारबाही गर्न कडाइका साथ लाग्न प्रहरी तथा प्रशासनलाई भनिएको पनि प्रधानमन्त्री दाहालले स्पष्ट गर्नुभयो ।
उहाँले सुन प्रकरणजस्तै यसअघिका विभिन्न प्रकरणमा पनि दोषीलाई नछोडी निस्फिक्री अनुसन्धान गर्न प्रहरीलाई भनिएको पनि जानकारी दिनुभयो ।
माओवादी नेता कृष्णबहादुर महरा र उहाँका छोराको नाम पनि यस प्रकरणमा जोडिएको एक प्रश्नमा उहाँले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो प्रतिवेदनमा नाम समावेश गरेको विषयमा सोधिएको र यस विषयमा प्रहरीले एकाध दिनमै त्यसलाई स्पष्ट गर्ने बताएको भन्दै दोषी देखिए कसैलाई पनि नछोड्न भनिएको बताउनुभयो ।
प्रहरीले आफ्नो सक्दो प्रयासबाट अनुुसन्धान गरिरहेको र यसमा अपराधीको देश हुँदैन भनेजस्तै विभिन्न देशका नागरिक नै यसमा संलग्न भएको देखिएकाले यसको अनुसन्धान गर्न सबैले सहयोग गर्नुुपर्ने उहाँले आह्वान गर्नुभयो ।
प्रधानमन्त्री दाहालले पछिल्लो समयमा सरकारले भुटानी शरणार्थी प्रकरणदेखि लिएर ललिता निवास हुँदै ठूलो मात्रामा अवैधरूपमा विमानस्थलबाटै बाहिरिएको सुन पक्राउ प्रकरण सबै वर्तमान सरकारले सुशासनमा गरेको प्रत्याभूतिको सुरुआत भएको स्पष्ट गर्नुभयो । उहाँले नेपाली नागरिकलाई विदेशी बनाएर विदेश पठाउनेजस्ता जघन्य अपराधका घटनामा संलग्न मानिसलाई पक्राउ गरी कारबाही गर्न नै सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको हो भन्नुभयो । उहाँले यस्तो अपराधमा संलग्नलाई सरकारले कारबाही गर्ने र यसको अनुसन्धानमा कुनै पनि कसर बाँकी नराख्ने पनि स्पष्ट गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “म तेस्रो पटक प्रधानमन्त्री भएदेखि नै मुलुकमा जनतालाई सुशासन, न्याय र सेवाको प्रत्याभूति गर्छु भनेर प्रतिबद्धता व्यक्त गरेको हुँ र सरकारको सुशासनको अभियानको सुरुआत यस्ता भ्रष्टाचारका प्रकरणको छानबिनबाट नै थालेको हो, यसमा जनताले सरकारलाई धन्यवाद दिएकै छन् भन्ने मेरो बुझाइ छ ।” त्यस्तै ललिता निवासको जग्गामा भएको अनियमितताको अर्काे फाइल खोल्नुको कारण पनि त्यही भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पहिला नक्कली भुटानी प्रकरणको फाइल खोल्यौँ र त्यसबाट यस्तो अपराधमा समेत राज्यका कस्ता कस्ता निकाय, कर्मचारी तथा नेताहरू स्वयं संलग्न हुँदारहेछन् भन्ने देखियो र त्यसपछि देशमा भूमाफियाको जालो कस्तो रहेछ भन्ने कुराको अध्ययन ललिता निवासको फाइलबाट देखियो ।”देशमा सरकारी जग्गालाई व्यक्ति व्यक्ति मिलेर, सेटिङ गरेर निजी बनाई कसरी अनियमितता गर्दा रहेछन् भन्ने कुराको अध्ययन गरी त्यस्ता व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गरेर यस्तो प्रवृत्तिलाई नै परास्त पार्नका लागि ललिता निवासको जग्गा अनियमितताको फाइल खोलिएको उहाँले बताउनुभयो । यो अनुसन्धान देशमा भूमाफियाको चलखेललाई पूर्णतः रोक्ने र उनीहरूको जालो तोडेर सरकारी जग्गाको संरक्षण गर्ने अभियानको थालनीका लागि पनि ललिता निवासको जग्गा अनियमितता फाइल खोलिएको उहाँको स्पष्टीकरण थियो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो त सरकारको सुशासनको थालनी हो र आगामी दिनमा यस्ता सरकारी जग्गा या अन्य अनियमितता जोडिएका धेरै फाइल खुल्न सक्छन् ।” त्यसपछि पछिल्लो पटक सुन प्रकरण आएको प्रस· उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले यी सबै प्रकरणमा सरकारले यो गर्नु या त्यो नगर्नु नभनेको र राज्यका सम्बन्धित निकायले बिना कुनै पक्षपात अनुसन्धान गरिरहेकाले दोषी पत्ता लगाएरै छोड्ने विश्वासमा आफू रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले जनतालाई सुशासनको अनुभूति हुने गरी कार्यक्रम सरकारले ल्याएको, आफू पनि सोही कामका लागि दिन रात खटेको र जनताले सुशासन र सेवाको अनुभूति हुने गरी सरकारले काम गरेको उल्लेख गर्नुभयो । बालुवाटारमा संसद् खोल्ने सहमति भयो, बानेश्वर पुग्दा कसरी भ· भयो ? प्रधानमन्त्री दाहालले दलहरूका बीचमा जेजस्ता सुकै विमति रहेका भए पनि तिनमा छलफल गरी निकास निकाल्नका लागि पनि संसद् अवरुद्ध हुन नहुने दोहो¥याउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशमा बाढी पहिरोको मौसम छ र जनतालाई राहत आदिका कुरा छन्, संसद्मा लैजान ठिक्क पारिएका महत्वपूर्ण विधेयक छन्, अरु विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने छ तर संसद् अवरुद्ध गरेर कसरी हुन्छ ? जे सुकै होस् संसद् खुल्नुपर्छ र त्यहीँबाट जनताका प्रतिनिधिले जनताका आवाज मुखरित गर्नुपर्छ ।”संसद् खुलाउनकै लागि आफू र सबै सत्तारुढ दलले प्रतिपक्षी दलसँग सहमति र सम्झौतासमेत गरेको तर बालुवाटार पुग्दा त्यो कसरी भ· भयो भनेर आफू छक्क परेको उहाँले सुनाउनुभयो । संसारमा अन्यत्र कतै नभएको सत्तारूढ दलहरू प्रमुख विपक्षी दललाई संसदीय समितिमा तीन जना सभापति दिन सहमति भई त्यो दिएर संसद् खुलाउनकै लागि बालुवाटारमा सहमति गरेको खुलासा गर्दै उहाँले तर त्यो सहमति बालुवाटारमा पुगेर किन र कसरी भ· भयो भन्ने बारेमा आफू जानकार हुन नसकेको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले विगतमा पनि लामो समय यसैगरी संसद् अवरुद्ध भएको प्रस· उल्लेख गर्दै यसबाट कसैलाई फाइदा नपुग्ने र यस्ता क्रियाकलापले बरु संसदीय व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था ल्याउन सक्ने आशङ्का गर्नुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “यो उहाँहरूको कतै विगतको जस्तै संसद् विघटन गर्ने निरन्तरता त होइन ?” सम्पादकहरूसँगको कुराकानीकै क्रममा प्रधानमन्त्री दाहालले देश विभिन्न समस्यामा रहेको र आफू सरकारमा आउँदा देशको आर्थिक अवस्था निकै नाजुक अवस्थामा रहेको भए पनि अहिले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभयो । उहाँले आफूले समय समयमा निजी क्षेत्र, सरकारी सरोकारवाला निकाय र अर्थ क्षेत्रका व्यक्तिसँग यस विषयमा छलफल जारी राखेको र अहिले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको पाएको बताउनुभयो । निजी क्षेत्रको सहयोग र साझेदारीबिना देशमा समृद्धि सम्भव छैन भन्दै उहाँले अहिले मुलुकमा रेमिटेन्स बढेको, पर्यटक आगमनमा पनि सुधार भएको र आफूलाई आर्थिक क्षेत्रका विभिन्न सूचकहरू दिने क्रममा सुधार भएको देखाइएकाले देशको अर्थतन्त्रमा त्यस्तो सङ्कटपूर्ण अवस्था नदेखिएको बताउनुभयो । आफू सरकारमा आउने बेलामा र त्योभन्दा केहीअघि देश श्रीलङ्काजस्तै बन्ने भयो या आर्थिकरूपमा टाट पल्टिने भयो भन्नेजस्ता विविधि हल्ला चलेको भए पनि आफूले प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला देशमा अर्थतन्त्रको सुधारका लागि काम गरेकाले आज सुधारोन्मुख अवस्थामा आएको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले देशमा भइरहेका पछिल्ला सरकार विरोधी गतिविधि तथा संसद्मा देखिएको अवरोध आदिबाट गठबन्धनमा दरार पैदा गर्न खोजिएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “पछिल्लो समय मलाई त्यस्तै लाग्दैछ । कतैबाट पनि सरकारलाई निकास ननिस्कियोस् भन्ने ढ·बाट कुराहरू आउने गरेका छन् । तर मलाई लाग्छ गठबन्धनमा त्यस्तो कुनै असजिलो छैन । सरकारले काम गरिरहेकै छ ।” उहाँले यी पछिल्ला क्रियाकलाप गठबन्धन भत्काउने र सरकारप्रति पनि अविश्वास पैदा गर्ने काम भएको आफूले बुझेको बताउनुभयो । उहाँले यस्ता क्रियाकलापका कारण सरकार सुशासन र जनतालाई सेवा दिने काम कारबाहीबाट पछि नहट्ने पनि स्पष्ट गर्नुभयो । प्रधानमन्त्री दाहाल आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जानुहुने भएको छ । आज सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै उहाँले सो जानकारी दिनुभएको हो । उहाँले आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट सेप्टेम्बर २१ तारिखमा चीन जाने जानकारी दिनुभएको हो । यस पटक चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सहयोग सम्झौता हुने पनि उहाँले जानकरी दिनुभयो । चीनको बिआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उहाँले नेपालसँग भएको बिआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र यस बिआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि उहाँले जानकरी दिनुभयो । चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने जानकारी प्रधानमन्त्री दाहालले दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -