सहारा दैनिक

spot_img
Homeसमाचारसुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि कारवाही हुनुपर्छ–कांग्रेस

सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि कारवाही हुनुपर्छ–कांग्रेस

काठमाडौँ, २९ साउन (रासस)
नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने जनाएको छ ।
कांग्रेसले हालै अवैध ढ·ले पैठारी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्की बरामद गरिएको एक क्विन्टल सुन प्रकरण सम्बन्धमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले यस्ता घटना विगतमा पनि भएको र पटकपटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको उल्लेख गर्दै त्यस्ता गैरकानूनी कार्य निस्तेज एवं पूर्णरूपले नियन्त्रण हुनु पर्ने माग गरेको छ ।
बैठकले यस्ता कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने निर्णय गर्दै यस्ता कार्यका लागि अनुसन्धान, छानविन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्यूरोलगायत सरकारी निकायहरूले छानविन अनुसन्धान गरिरहेको जनाएको छ ।


बैठकले नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानविन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि सदन अवरुद्ध भएका कारण एकातर्फ जनताका सरोकारका विषय सदनमा उठ्न नसकेको र अर्कोतर्फ सदनमा विचाराधीन महत्त्वपूर्ण विधेयक कानून बन्न नसकेको उल्लेख गरेको छ ।
बैठकले सत्तारूढ दलहरूसँगै प्रमुख प्रतिपक्षीलगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद् सुचारु गर्न पहल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
कांग्रेसले संसद्मा विचाराधीन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न सरकार र संसद्मा क्रियाशील सबै दललाई अपिल गरेको छ । यसैगरी बैठकले चालु आर्थिक वर्षको बजेटमा देखा परेको कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्ने आवश्यक व्यवस्था मिलाउन, पूँजीगत खर्च कम हुने अवस्थालाई उचित ढ·ले सम्बोधन गर्न र बजेटलाई प्रभावकारीरूपले कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेको छ ।
बैठकले सरकारमा सहभागी दलहरूको गठबन्धन कांग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको जनाउँदै सोहीअनुसार वर्तमान सरकारले निरन्तरता पाएको र राष्ट्रको सर्वोत्तम हितका लागि राजनीतिक स्थिरता आवश्यक रहेको निष्कर्ष निकालेको छ । गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपमा काम गर्न आवश्यक रहको जनाउँदै बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपले काम गर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।
बैठकले नागरिकको जीविकासँग सम्बन्धित र प्रत्यक्ष सरोकारका विषयमा सरकारले यथेष्ठ ध्यान दिन जरुरी रहेको जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -