सहारा दैनिक

spot_img
Homeसमाचारदशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न

दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न

काठमाडौँ, २६ साउन (रासस)
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालस्थित भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्दैै भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) सहसचिव ए अजय कुमारले सहभागिता जनाउनुभयो ।
नेपाली टोलीमा भारतीय लाइन अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको सहभागिता थियो । नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिट र भारत–नेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षबाट प्रशंसा गरियो । साथै कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिको पनि बैठकमा समीक्षा गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा सहभागिताका लागि नेपाल आएको भारतीय टोलीले यही साउन २४ र २६ गते भारत सरकारको ऋण रकम अन्तर्गत निर्माण भइरहेका सडक परियोजनाको स्थलगत भ्रमण गरेको थियो । भारत सरकारले हालसम्म ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलरभन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ ।
भारतले लाइन अफ क्रेडिट अन्तर्गत नेपाललाई विभिन्न परियोजनामा गरी कूल एक दशमलव ६५ अर्ब अमेरिकी डलर उपलब्ध गराइसकेको छ । लाइन अफ क्रेडिट अनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेका पूर्वाधार विकासमा लगानी गरिनेछ । यसरी प्राप्त ऋण रकम हालसम्म ४० भन्दा बढी सडक परियोजना (११०५ किमि सम्पन्न), छवटा जलविद्युत तथा प्रसारण लाइन र विभिन्न आवास तथा पुनर्निर्माण परियोजनामा खर्च भएको छ ।
साथै कोशी कोरिडोर (२२० केभी), मोदी लेखनाथ (१३२ केभी), सोलु कोरिडोर (१३२ केभी) र ढल्केबर–भित्तामोड (४०० केभी) जस्ता मुख्य एलओसी परियोजनाले नेपालमा विद्युत प्रसारण पूर्वाधारलाई विस्तार गर्न मद्दत गरेको छ । भेरी कोरिडोर, निजगढ–इनरुवा, गण्डक नेपालगञ्ज प्रसारण लाइन र यी प्रसारण लाइनका सबस्टेसनहरुको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७ दशमलव ९८ करोड अमेरिकी डलर लगानी गर्न पनि भारत सरकार सहमत भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -