सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ साउन ।
भारत बिहार राज्य मजफ्फरपुरबाट वीरगंज प्रवेश गरेका सन्तोष जैन एका एक अरब पति बन्नुमा अवैध हुण्डी कारोवार नै रहेको निजका छोरा राजा भन्ने सौरभ जैनको अभिव्यक्तिले पुष्टि गरेको छ ।
सौरभ जैनले राष्ट्रिय सहारासंगको कुरा कानीका क्रममा उद्योगहरुमा गरिएको लगानी बाबु बाजे (बाप दादा) को भएको बताएका छन ।
निज आफैले हुण्डी कारोवार गर्ने क्रममा २०७३ सालमा पर्सा प्रहरी बाट पक्राउ परेर सजाय भोगी सकेको लिखित रुपमै स्वीकार गरिसकेका छन ।
निजले २०७३ साल सम्म हुण्डी कारोवार गरेको स्वीकार गरेका छन भने नेपालमा कुनै वैधानिक कारोबार नै नगरी अहिले आफूलाई नेपालको उद्योगीको रुपमा उभ्याउन तल्लिन देखिएका छन् ।
७ वर्ष अघि सम्म अवैध हुण्डी कारोवारमा सकृय जैन परिवारले त्यस पश्चातको छोटो अवधीमा उद्यँेग संचालनमा लाग्ने करोडौ रुपैया कसरी आर्जन गरे प्रश्न उठिरहेकै बेला राष्ट्रिस सहारा दैनिकसंगको कुराकानीमा सन्तोष जैनका छोरा सौरभ जैनले बाबु बाजेको सम्पतिले उद्योगमा लगानी गरेको बताएका छन ।
जसले उनी उद्योगमा गरेको लगानी भारतबाट ल्याइएको पुष्टि हुन्छ । जसको कुनै वैधानीक आधार देखिंदैन । किन भने विदेशबाट नेपालमा उद्योग संचालनको लागी भित्रिने लगानी (रकम) राष्ट्र बैंक मार्फत विभिन्न प्रकृया पुरा गरी ल्याउनु पर्ने हुन्छ । त्यसबारे सौरभले केही बताएका छैनन् ।
जबकी २५÷२६ वर्ष अघि मजफ्फरपुरबाट वीरगंज प्रवेश गरेका सन्तोष जैन २०७३ सालसम्म हुण्डी कारोबारी र सुन तस्करकै रुपमा परिचित थिए भने सोही क्रममा पर्सा प्रहरीबाट पक्राउ परेका थिए ।
नेपाल प्रवेश गरेदेखि नै अवैध कारोबारमा संलग्न भई अहिले अर्बपत्तिको रुपमा चर्चित बन्न पुगेका जैनका कान्छा छोरा अंकुर जैन (बिक्की) काठमाण्डौमा कार्यालय सञ्चालन गरेर बसेका छन् भने जेठो छोरा सौरभ जैन (राजा) वीरगंजमा बसेर आफ्ना अवैध (हुण्डी र सुन) कारोबारलाई निरन्तरता दिएको उद्योगी व्यवसायीवृत्तमा चर्चाको विषय बनेको छ ।
देखावटी रुपमा वीरगंजका व्यवसायी रामजी सिकारिया नेतृत्त्वको बारा जिल्ला प्रसौनी स्थित रहेको जगदम्बा ग्यास उद्योग र वीरगंज महानगरपालिका वडा नं. १४ स्थित रहेको मनोज गुप्ता नेतृत्वको बोलबम दाना उद्योगमा साझेदार भई त्यसकै आडमा आफ्ना काला धन्दा सञ्चालन गर्दै आएको चर्चाले व्यापकता पाएको छ ।
यति मात्र नभई देशभरीका दाना उद्योग धराशायी हुंदै गएको अवस्थामा जैनले थप दाना उद्योग स्थापना गरेको बुझिन आएको छ । उनले बारा जिल्लास्थित भलुहीमा झण्डै ३०÷४० करोडको लागतमा मनोज गुप्ता र रामजी शिकारियासंगको साझेदारीमा सो उद्योग संचालन गर्न लागेको निजले आफ्ना नजिकका व्यक्तिहरूलाई बताउने गरेका छन् ।
सन्तोष जैन परिवारसहित २०७३ सालमा वीरगंजमा ठूलो परिणामको हुण्डीको रकमसहित पक्राउ परेर उम्केपछि लगत्तै केही समयको अन्तरालमा निजका जेठा छोरा सौरभ जैन नेपालको पुर्वी नाकाबाट सुन लैजाने क्रममा भारतको बंगाल राज्यस्थित सिलिगुडीबाट पटना जाने क्रममा १० किलो सुनसहित पक्राउ परेका थिए ।
तत्पश्चात एक्कासी विभिन्न उद्योगमा लगानी गरेको करोडौं रुपैयां कहाबाट ल्याए ? खोजीको विषय बनेको छ । यसमा सम्पत्ति शुद्धिकरण विभागले चासो लिनुपर्ने देशभक्त नागरिकहरूको धारणा रहिआएको छ ।
समाचार स्रोतले दिएको जानकारी अनुसार जैनले भारतका केहि भ्रष्ट नेता, कर्मचारी, अपराधी एवं काला बजारीहरूको अवैध कालो धनलाई संरक्षण गर्न सुभाष साह जस्ता केरियर मार्फत हुण्डीको माध्यमबाट नेपालमा रकम भित्रियाई उद्योगहरूमा लगानी गरिरहेका छन् ।
त्यस्तै भारतीय भ्रष्ट नेता, कर्मचारी, अपराधी एवं काला बजारीहरूलाई चीनबाट अवैध रुपले झिकाइएको सुन समेत पु¥याउने गरेको चर्चा पनि उत्तिकै छ ।
यसैक्रममा जैनका कान्छो छोरा अंकुर जैनमार्फत वीरगंजका उद्योगपति जिडी फर्मास्युटिकल्सका संचालक घनश्याम दास चाचानका भतिजा मानिक चन्द चाचानका छोरा राम चाचानले सात करोड रुपैया लिएर भागेको विषय पनि व्यवसायहरूबीच चर्चा मात्र चलेको छैन, प्रशासनिक रुपमा समेत यसको विषयमा मुद्दा एवं छलफलको क्रम जारी छ । मानिक चन्दका छोरालाई दिएको सात करोड रुपैया जैनले कहाबाट ल्याए ? यो पनि खोजीको विषय छ ।
विभिन्न एजेण्टहरू परिचालन गरी सुन पठाए वापतका रकम भारतबाट हुण्डीको माध्यमबाट नेपाल झिकाउने गरेको व्यवसायीवृतमा चर्चा व्याप्त छ । हुन त निज सौरभ जैनले आफूहरू विशुद्ध उद्योग व्यवसायमा क्रियाशील रहेको दाबी गर्छन् ।
तर उद्योग व्यवसाय गर्न रकम चाहिने हो त्यो पनि बैध तरिकाले आर्जन गरेको हुनु पर्ने हो ।
यिनले लगानी गरेको रकमको स्रोत के हो ? २५÷३० वर्ष अघि भारत विहारको मजफ्फरपुरमा श्रीमती र सन्तान सहित नेपाल प्रवेश गरेका सन्तोष जैनको सम्पत्तिको स्रोत के हो ? सौरभ जैनले दावी गरे अनुरुप नेपाल कसरी लगानी भित्रियाए त्यो पनि सम्पत्ति शुद्धिकरण विभाग र राष्ट्र बैकले गहन अनुसन्धान गर्नु पर्ने बुद्धिजिवी एवं उद्योगी व्यवसायीहरु कै राय छ ।
Facebook Comments Box