सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ साउन ।
खानेपानीको समस्यासंग जुधिरहेका नगरवासीका लागि ट्यांकरबाट खाने पानी वितरण गर्दै आएको वीरगंज महानगरपालिकाले अत्यावश्यक स्थानहरुमा टंकी र धारा जडान गर्ने कार्यलाई तिब्रता दिएको छ ।
खानेपानी संस्थानको पाइपलाइन विस्तार भएको वडा नं. १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा टंकीमार्फत अस्थायी रुपमा पिउने पानीको व्यवस्था मिलाउन सुरु गरिएको हो ।
घरघरमा रहेका चापाकल सुकेर पानीको समस्यासंग जुधिरहेका नागरिकलाई तत्काल आवश्यक पानीको व्यवस्था मिलाउन महानगरका मेयर राजेशमान सिंहले निर्देशन दिनुभएको छ ।
महानगरले आइतबार वडा नं. १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटरको टंकी राखेर पिउने पानीको प्रबन्ध मिलाएको छ ।
त्यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरुमा जडान गर्ने कार्य सोमबारदेखि नै सुरु गर्ने गरि आवश्यक सबै प्रकृया मिलाइसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।
खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनले नछोएका वडा तथा स्थानमा भने टंकी नै राख्ने प्रबन्ध मिलाइएको उहाले बताउनु भयो ।
केही दिनभित्रै ३२ वटै वडामा आफूहरुले धारा जडानका साथै टंकी राखिसक्ने गरी काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । यसै विच वडा नं. २५ का वडाअध्यक्ष आशुतोष चतुर्वेदीले आफ्नो व्यक्तिगत खर्चमा टंकी राखेर वडाका बासिन्दालाई पानीको व्यवस्था मिलाउनु भएको छ ।
सबैको प्रयास र हातेमालोबाट मात्रै प्राकृतिक विपत्तिको सामना गर्न सकिने भएकाले वडावासीका लागि आफ्नै लगानीमा १० हजार लिटरको ट्यांकी मार्फत ठाउ–ठाउमा पानीको प्रबन्ध मिलाएको वडा अध्यक्ष चतुरवेदीले बताउनु भयो ।
Facebook Comments Box