सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ असार ।
पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलाई काठमाडौंको चार किल्ला बाहिर निस्केर मधेशका कृषकहरूले भोगिरहेको समस्या बारे बुझ्न आग्रह गर्नु भएको छ ।
शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक समेत रहेका सांसद् यादवले काठमाडौं र सिंहदरबार भित्रबाट मधेशका कृषकहरूको समस्या नदेखिने बताउदै त्यस बाहिर नसिकेर मधेश भ्रमणमा जान आग्रह गर्नु भयो ।
उहाले म सभामुख मार्फत उर्जा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु, तपाई काठमाडौं मुखी नहुनुहोस् । काठमाडौंमा बसेर किसानका समस्या देखिंदैन, तपाई मधेशका किसानको सिंचाईको अवस्थालाई पनि हेर्नुहोस् । सिंहदरबारको आंखा गाउतिर र मधेशतिर पनि जाओस् भन्नु भयो ।
सांसद यादवले चुरे दोहन र जलवायु परिवर्तनको प्रभाव मधेश प्रदेशमा देखिएको भन्दै चिन्ता व्यक्त गर्दै मनसुनको बेलामा पनि वर्षा नहुंदा सिंचाई अभावका कारण किसान मारमा परेको बताउनु भयो ।
यादवले मधेशका नहरमा स्काभेटर लगाएर सफाई नगरिएकोको कारण पनि कृषकहरूलाई समस्या भइरहेको गुनासो गर्दै कृषि प्रधान देशमा किसान नै पिडित भएपछि देश समृद्ध हुन नसक्ने बताउनु भयो ।
उहाले कृषकले भोगिरहेको समस्या प्रति सरकार अनुदार भएको बताउदै किसानलाई बिउ, मल र आवश्यक सिंचाईको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
Facebook Comments Box